काठमाडौं—ह्याम्स अस्पतालले कोरोना महामारीको समयमा स्वास्थ्य मन्त्रालयको मापदण्डअनुरुप नै काम गरिरहेको जनाएको छ । अस्पतालले बिरामी भएर ह्याम्स अस्पतालमा सेवा लिने क्रममा कोभिड–१९ पोजिटिभ देखिएको चिकित्सकलगायतको टोलीले नेपाल सरकारले तोकेको अस्पतालमा जान र सो अस्पतालमा निःशुल्क उपचार लिन बिरामीसँग आग्रह गरेको जनाएको छ ।
शनिबार विज्ञप्ती प्रकाशित गरी बिरामीबाट अस्पतालमा उपचार गर्ने र अस्पतालले तोकेको शुल्क तिर्ने मन्जुरी दिएको अवस्थामा मात्र मन्त्रालय तथा अस्पतालले तय गरेको गाइडलाइनका आधारमा उपचार गरिने उल्लेख गरेको छ ।
साथै पिसिआर रिपोर्ट पनि निर्देशिका बमोजिम बिरामीको आवश्यकताअनुसार मन्त्रालयले तोकेको अस्पतालमा टेष्ट गर्न पठाउने गरेको दावी गरेको छ ।
अस्पतालले घाटा खाएर पनि सेवा दिइरहेको जनाउँदै नेपाल सरकार, सम्पूर्ण व्यवसायी, ब्यक्ति एकजुट भई कोभिड–१९ को विरूद्ध सामूहिक लडाइ आवश्यकतासमेत उल्लेख गरेको छ ।
ह्याम्स, ग्राण्डी र नेपाल मेडिकल कलेज अस्पतालले कोभिड—१९ निर्देशिका विपरित पैसा लिएर कोभिड—१९ को पिसिआर जाँच गरेको विषयमा हेल्थ आवाजले समाचार प्रकाशन गरेको थियो । सो समाचार प्रकाशन भएसँगै स्वास्थ्य तथा जनसंखया मन्त्रालयले मन्त्रालयका उपसचिव पानबहादुर क्षेत्रीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
त्यस्तै कोरोना संक्रमितलाई अस्पतालको आइसोलेसनमा राखेर महंगो शुल्क लिएको भन्दै समाचार प्रकाश भएका थिए । सो विषयमा अस्पतालले खण्डन गर्दै विज्ञप्ती निकालेको हो ।