चितवन-पश्चिम चितवनको भुवनवस्तीमा रोयल सासा फर्मासिटिक्यूल्स औषधी उद्योग सञ्चालनमा आउने भएको छ । आगामी दुई वर्षभित्र विश्व स्वास्थ्य संगठनको गुणस्तर मापदण्डको जिएपी प्रमाणीकरण पाउने गरी उद्योग सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
झन्डै ५० करोड रुपैयाँको लगानीमा निर्माण हुँदै गरेको उद्योगले हाल २७ प्रकारका औषधीहरु उत्पादन परीक्षण सुरु गरिसकेको छ ।विदेशबाट आउने औषधीलाई कम र देशमै गुणस्तरीय र सर्वसुलभ पहुंँच पुर्याउन उद्योग सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्राविधिक सल्लाहकार राजेन्द्रप्रसाद चौधरीका अनुसार कम्पनीले मेडिकलजन्य २४ प्रकारका औषधीहरु उत्पादन गर्ने र त्यसमध्ये एन्टीबायोटिक औषधीलाई पहिलो चरणमा र ट्याब्लेट, क्याप्सुल, मल्हम, पूर्वाधार मेसिनरीलगायत अन्यलाई दोस्रो चरणमा उत्पादन गर्ने लक्ष्य लिएको बताए । उनले बजारको माग अनि आवश्यकताअनुसार नै क्षमतालाई थप विस्तार गर्ने समेत जानकारी दिए ।
त्यस्तै, कम्पनीका क्वालिटी कन्ट्रोल म्यानेजर उत्सव नेपालले अत्याधुनिक प्रविधिको मेसिन जडान गरी औषधी उत्पादन गर्दै आएको बताएका छन् । यता, कम्पनीका सिनियर फर्मासिट जीतेन्द्र यादवका अनुसार कम्पनीले एक हप्ताभित्र ६ वटा प्रकारको औषधी बनाइसकेको र यसको परीक्षण उत्पादनको समयावधि ६ महिनाको हुने, त्यसपछि गुणस्तरमा असर नपरेपछि मात्रै व्यवसायिक उत्पादन गरिने बताए ।
झण्डैं १२ कट्टा क्षेत्रफलमा सञ्चालन ल्याउन लागिएको उद्योगमा हाल चितवन लगायत ९ जना औषधी व्यवसायीहरुले संयुक्त लगानी गरेको छ । अहिले उद्योगले वार्षिक क्षमता १५ करोड ट्याबलेट, ५० लाख क्याप्सुल, ५० लाख ट्युव मल्हम, ६० लाख पुरीया जीवनजल, २५ लाख बोतल ड्राई सिरफ उत्पादन गर्न सक्नेछ ।
त्यस्तै, नाक, कान घाँटी, मधुमेह, मुटु रोगको औषधी उत्पादन गर्ने लक्ष्य लिइएको कम्पनीले सुइजन्य औषधी र आँखा रोगको समेत औषधि उत्पादन गर्ने जनाएको छ । उद्योग विस्तार भएसँगै झण्डै डेढ सयजनालाई रोजगारी दिने कम्पनीले जनाएको छ । अहिलेसम्म उपकरणलगायतमा २५ करोड लगानी भइसकेको छ ।
भिडियो हेर्नोस्