काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएका मानिसबाट अन्य मानिसमा कोरोना भाइरस नसर्ने जनाएको छ । शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मृत्यु भएका व्यक्तिमा श्वासप्रश्वास सम्बन्धि कुनै क्रियाकलाप नहुने भएको हुँदा अन्य व्यक्तिमा कोरोना नसर्ने बताएका हुन् ।
उनले कोभिड—१९ संक्रमित व्यक्तिको मृत्यु भएपछि जमिनमा खाल्टो खनी, जलाई वा अन्य तरिकाले आफ्नै रितिरिवाज अनुसार दाहसंस्कार गर्न सकिने बताए । ‘यो रोग खोक्दा, हाँछ्यु गर्दा, बोल्दा निस्कने छिटा (ड्रपलेट) बाट सर्ने गर्दछ,’ उनले भने, ‘मृत्यु भएको मान्छेबाट खोक्ने, हाँछ्यु गर्नेलगायत श्वासप्रस्वास सम्बन्धि कुनै क्रियाकलाप हुँदैन । जसको कारण शवबाट संक्रमण गराउने स—साना थुक वा पानीका छिटा (ड्रपलेट) निस्कदैन् ।
डा. गौतमले त्यसकारण शवबाट संक्रमण नहुने बताए । उनले सामान्य सावधानी अपनाएर शवको व्यवस्थापन गर्न सकिने जानकारी दिए । यसअघि मन्त्रालयले कोभिड—१९ बाट संक्रमित व्यक्तिको मृत्यु भएमा त्यसलाई उच्च सावधानी अपनाएर तालिमप्राप्त व्यक्तिहरुबाट मात्र शव व्यवस्थापन गर्ने निर्देशिका जारी गरेको थियो ।