२०८१ पुस १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगृहद्वारा पिसिआर परीक्षणका लागि दबाब नदिने व्यवस्था मिलाउन उपत्यका तीनै जिल्ला प्रशासनलाई निर्देशन

गृहद्वारा पिसिआर परीक्षणका लागि दबाब नदिने व्यवस्था मिलाउन उपत्यका तीनै जिल्ला प्रशासनलाई निर्देशन


काठमाडौं—गृह मन्त्रालयले काठमाडौं बाहिरबाट फर्कने मानिसहरु अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यलयलाई निर्देशन दिएको छ । मंगलबार गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र लेखेर गर्दै बाहिरबाट उपत्यकामा आउनेलाई १४ दिन क्वारेन्टाइनमा बस्ने र उक्त अवधिमा कुनै लक्षण देखिएमा मात्रै पिसिआर गर्ने व्यवस्था मिलाउन भनेको हो ।

गृहले स्वास्थ्य मन्त्रालयले जारी गरेको नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड—१९ अनुसार १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने र त्यो अवधिमा लक्षण देखिएमात्रै पिसिआर परीक्षण गर्न भनेको छ ।

अहिले काठमाडौं उपत्यका बाहिरबाट आएकालाई घरबेटीहरुले पिसिआर रिपोर्ट भएमात्रै प्रवेश गर्न दिने भन्दैं घर प्रवेशमा रोक लगाउन थालेको गुनासो आउन थालेको छ । घरबेटीले पिसिआर रिपोर्ट माग्न थालेपछि दैनिक १ हजारभन्दा बढी संख्यामा पिसिआर परीक्षणका लागि काठमाडौं बाहिरबाट फर्किएकाहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुग्ने गरेका छन् ।

पिसिआर परीक्षणका लागि टेकु पुगेका सर्वसाधारणहरुले त्यहाँका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दबाब दिन थालेका छन् । उक्त दबाब झेल्न हम्मे परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गृह मन्त्रालयलाई उक्त दबाब रोक्न गृह मन्त्रालयलाई गुहारेको छ । स्वास्थ्यबाट पत्र प्राप्त भएपछि गृहले मंगलबार तीनै जिल्ला प्रशासनलाई निर्देशन दिदैं चिकित्सक र स्वास्थ्यकर्मीमाथि दबाब नदिने व्यवस्था मिलाउन भनेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ