२०८१ मंसीर ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गर्दै विपी प्रतिष्ठान

अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गर्दै विपी प्रतिष्ठान


धरान-पूर्वी क्षेत्रको रिफरल केन्द्र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिटी स्क्यान मेसिन खरिद गर्ने प्रक्रिया सुरु गरेको छ । प्रतिष्ठानमा रहेको सिटी स्क्यान मेसिन वर्षौदेखि बिग्रिए थन्किएको अवस्थामा नयाँ उपकुलपति नियुक्तिसँगै आधुनिक सिटी स्क्यान मेसिन खरिद प्रक्रिया सुरु भएको हो ।

आर्थिक वर्ष समाप्त हुनै लाग्दा प्रतिष्ठानको पहललाई सकारात्मक लिदै स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयद्वारा र​कमान्तर गरिएको २० करोड बजेटसँगै प्रतिष्ठानले अत्याधुनिक उच्च क्षमताको २५६ स्लाइस सिटी स्क्यान मेसिन खरिद प्रक्रिया सुरु गरेको हो ।

अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा बिरामीहरु चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा धाउन बाध्य रहेका थिए । निजी अस्पतालहरुमा सिटी स्क्यान गरेको ८ हजारदेखि १८ हजार रुपैयाँसम्म तिर्नुपर्छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै यो सेवा अत्याधुनिक उपकरणबाट पुनः सुरु भए बिरामीले निजी अस्पतालमा भन्दा प्रतिष्ठानमा आधा मूल्य कममै सेवा पाउनेछन् ।

प्रतिष्ठानले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवालाई अझ बढी प्रविधिमैत्री, सर्वसुलभ र नमुना अस्पताल बनाउने उद्देश्यका लागि अत्याधुनिक उच्च क्षमताको २५६ स्लाइस सिटी स्क्यान मेसिन खरिद गर्ने प्रक्रिया पहिलो पाइला रहेको प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले बताए । अस्पतालको सेवा लिन आएका विरामी कुनै पनि सेवावाट बन्चित हुन नपरोस् भन्ने आफ्नो चाहना अनुरुप छिट्टै एमआरआई मेसिनलगायत अन्य  उपकरण खरिद, सेवा विस्तार, ट्रमा सेन्टर, हृदय रोग केन्द्र, प्रत्यारोपण केन्द्र स्थापनालगायतका आफ्ना योजना रहेको उपकुलपति गिरीले जानकारी दिए । हाल अस्पतालमा रहेको बेड संख्यालाई आगामी ३ वर्षमा २००० सैया बनाएर नेपालकै सबैभन्दा ठूलो अस्पतालका साथै काठमाडौंमा उपलब्ध सम्पूर्ण सेवा मोफसलको धरानबाट नै जनताले पाउने कुराको सुनिश्चितता गर्न आफू लागिपरेको दावी उनले गरे ।

बढी स्लाइसको सिटी स्क्यानबाट निदान गर्दा छिटो हुने ,“रेडिएसन एक्पोजर कम” हुने र अर्कोतिर यसले स्पष्ट आकृति र तुलनात्मक रुपमा धेरै संख्यामा सेवा दिन सक्ने प्रतिष्ठानको रेडियोलोजी विभागका प्रमुख डा. मुकेश गुप्ताले जानकारी दिए । डा. गुप्ताका अनुसार नयाँ सिटी स्क्यान मेसिन बिरामीको नशा “एन्जिओग्राम”का लागिसमेत उपयोगी र प्रभावकारी हुने र हालसम्म प्रतिष्ठानमा भएका सिटी स्क्यानको तुलनामा यो निकै अत्याधुनिक रहेकाले मतिष्कघात, मतिष्कभित्रका अन्य चोट, नसामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा मेसिन उपयोगी हुने बताए ।

यसअघि अस्पतालमा १६ स्लाइसको मेसिन उपलब्ध भए पनि बारम्बार बिग्रिएका कारण सेवा अवरुद्ध रहेको अवस्थामा अत्याधुनिक नयाँ सिटी स्क्यान मेसिन खरिद प्रक्रिया सुरु भएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ