२०८१ असोज ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोना बिमारीको उपचारमा निजी अस्पतालको असहयोग, कारवाही गर्ने प्रदेश सरकारको चेतावनी

कोरोना बिमारीको उपचारमा निजी अस्पतालको असहयोग, कारवाही गर्ने प्रदेश सरकारको चेतावनी


बुटवल – कोरोनाको उपचारमा निजी अस्पतालले तत्परता नदेखाएपछि प्रदेश सरकारले उनीहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । कोरोना पूर्वतयारीको क्रममा अस्पतालले बिरामीको उपचारमा सहयोग गर्न जनाएको सहमतिलाई कार्यान्वयन नगरेपछि प्रदेश सरकार उनीहरु विरुद्ध कडा रुपमा प्रस्तुत हुन थालेको हो ।

केही दिनअघि क्रिमसन अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि शव व्यवस्थापनमा आलटाल भएपछि विभागीय मन्त्री सदुर्शन बरालले सरकारले निर्देशन पालना नगरे अस्पतालको दर्ता खारेज गरिदिनेसम्मको चेतावनी दिएका थिए ।

त्यसको एक दिनपछि प्रदेश सरकारले सहमतिअनुसार चिकित्सक र नर्स नपठाएको भन्दै युनिभर्सल मेडिकल कलेजलाई कारवाही गर्ने चेतावनी दिएको हो । भैरहवामा भीम अस्पतालमा बनाइएको कोरोना अस्थायी अस्पतालमा कलेजले दुई जना विशेषज्ञ चिकित्सक र १० जना नर्स उपलब्ध गराउने प्रतिवद्धता जनाएकोमा अहिलेसम्म नपठाएकोले कलेजलाई सहमति अनुसार नगए कारवाही गर्ने चेतावनी दिइएको हो ।

मेडिकल कलेज कोरोना विशेष अस्थायी अस्पताल भैरहवाको सञ्चालक समिति सदस्य समेत हो । को अस्पतालको व्यवस्थापकीय कामको जिम्मेवारी मन्त्री बरालले लिएका छन् । अस्पताल र प्रदेश स्वास्थ्य निर्देशनालयले पटक-पटक स्वास्थ्यकर्मी खटाउन आग्रह गर्दा पनि मेडिकल कलेज प्रशासनले अवज्ञा गरेपछि पत्र काटेर कारवाहीबारे जानकारी गराइएकोे मन्त्रालयको अस्पताल विकास तथा चिकित्सक महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बताए ।

उनले सहमतिअनुसार की स्वास्थ्यकर्मी उपलब्ध गराउनु पर्ने नभए कलेजले कोरोनाका बिरामीको उपचार गर्नुपर्ने उनले जनाए । यी दुई विकल्पमा कलेज तयार नभए कारवाही प्रक्रिया अघि बढाइने उनले स्पष्ट पारे ।

यता, मेडिकल कलेजका मानव संशाधन विभागका संयोजक कमलराज ढकालले कलेजले आफैले ‘फिबर क्लिनिक’ सञ्चालन गरेकोले जनशक्तिलाई पठाउन नसकिएको दाबी गरे । उनले सरकारले निजी स्वास्थ्य संस्थालाई सरकारले दबाब मात्र दिनु राम्रो नभएको तर्क गरे ।

सामाजिक विकास मन्त्रालयले कोरोना विशेष अस्पतालमा जनशक्ति खटाउन प्रदेशमा रहेका देवदह मेडिकल कलेज रुपन्देही, लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा, कोहलपुर मेडिकल कलेज बाँके र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज गरी ४ वटा निजी क्षेत्रका मेडिकल कलेजलाई भनेको थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ