काठमाडौं—स्वास्थ्य सेवा विभागअन्तर्गत ‘कन्ट्याक्ट ट्रेसिङ’ मा खटिएका एक जना चिकित्सकमा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । छात्रवृत्तिमा एमबीबीएस अध्ययन सकेर नेपाल सरकारको करारमा काम गरिरहेका ती चिकित्सकमा कपिलवस्तुबाट फर्केलगतै कोरोना संक्रमण देखिएको हो ।
स्रोतकाअनुसार कन्ट्याक्ट ट्रेसिङमा कपिलवस्तु गएका बेला उनमा कोरोना संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । कन्ट्याक्ट ट्रेसिङ सकेर फर्केपछि उनी क्वारेन्टाइनमा बसेका थिए ।
सोही क्रममा उनको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको हो । कोरोना पोजेटिभ देखिएलगतै उनलाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।
एक जना चिकित्सकमा कोरोना देखिएको स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले पनि पुष्टि गरे । ‘एक जना चिकित्सकमा कोरोना पोजेटिभ देखिएको छ,’ उनले भने, ‘सबै विवरण भने आइसकेको छैन् ।’
नेपालमा पहिलो पटक चिकित्सकमा कोरोना संक्रमण देखिएको हो । यसअघि ३ जना नर्स र एक जना फर्मासिष्टमा कोरोना पोजेटिभ देखिएको थियो ।