काठमाडौं—देशभर गर्भवतीको रक्तश्राव रोक्ने औषधी अभाव भएको छ । विगत पाँच महिनादेखि देशभर सरकारले वितरण गर्दै आएको ‘मिजोप्रोस्टोल चक्की’ अभाव भएको हो ।
परिवार कल्याण महाशाखाका अनुसार स्थानीय तहले खरिद गर्न नसक्दा ‘मिजोप्रोस्टोल चक्की’ देशव्यापी रुपमा अभाव भएको हो । १६ जिल्लामा भने वान हार्टले वितरण गर्ने जिम्मा लिएकाले समस्या छैन । तर, सरकारले वितरण गर्ने हकमा भने देशैभर अभाव छ ।
परिवार कल्याण महाशाखाका निर्देशक डा भिमसिंह तिङ्करीका अनुसार सुत्केरी अवस्थामा हुने अत्याधिक रक्तश्राव रोक्न यो औषधीको प्रयोग हुन्छ । चिकित्सकका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी भएको खण्डमा अक्सिटोसीन इन्जेक्सन चलाउने गरिन्छ भने घरमा सुत्केरी हुँदा रक्तश्राव रोक्न ‘मिजोप्रोस्टोल’ चलाइन्छ । यसको प्रयोगले मातृ मृत्यु रोक्न ठूलो भूमिका खेल्छ ।
परिवारकल्याण महाशाखाका अनुसार प्रति वर्ष करिब ७ लाख चक्की ‘मिजोप्रोस्टोल’ आवश्यक पर्छ । ‘अहिले स्वास्थ्य संस्थामा मिजोप्रोस्टोलको अभाव छ,’ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका एक अधिकारीले भने । स्थानीय तहले गत वर्ष खरिद गर्न नसक्दा ‘मिजोप्रोस्टोल’ अभाव भएको हो ।
सरकारले स्थानीय तहले खरिद गर्न नसकेपछि आर्थिक वर्ष ०७७/०७८ मा भने केन्द्र आफैले खरिद गर्न महाशाखाले ३६ लाख रुपैयाँ राखेको छ ।