२०८१ कात्तिक १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधुलिखेल अस्पतालमा २९ वर्षीया महिलाको मृत्यु कोरोनाबाट भएको पुष्टि

धुलिखेल अस्पतालमा २९ वर्षीया महिलाको मृत्यु कोरोनाबाट भएको पुष्टि


काठमाडौं-धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी २९ वर्षीया महिलाको मृत्युको कारण कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाल्चोक बाह्रबिसेकी ती महिलाको मृत्यु कोरोनाबाट भएको आधिकारिक पुष्टि गरेको हो ।

कोरोनाबाट मृत्यु भएको यो नेपालमा पहिलो केस हो । मृतकमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य मन्त्रालयले दिउँसो कोभिड—१९ नियन्त्रणका लागि बनाइएको इन्सिडेन्ट कमाण्ड सिष्टमअन्तर्गतको आइसिएस अपरेशनल अफिसर डा. गुणराज लोहनीको नेतृत्वमा चिकित्सकहरूको टोली धुलिखेल अस्पताल पठाएर ‘कज अफ डेथ’ अध्ययन गरेको थियो । सबै अध्ययन र परीक्षणपछि स्वास्थ्य मन्त्रालयले उनको मृत्युको कारण कोरोना भाइरस भएको पुष्टि गरेको हो ।

बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीया ती महिला ९ दिनकी सुत्केरी थिइन् । श्वासप्रश्वासमा समस्या देखिएर धुलिखेल अस्पताल ल्याइएकी उनको अस्पतालमा मृत्यु भएको थियो ।

‘श्वास प्रश्वासका कारण उनको मृत्यु भएपछि हामीले उनको थ्रोट स्वाब बिहीबार नै लिएका थियौं । धुलिखेल अस्पतालकै ल्याबमा जाँच गर्दा आज (शनिबार) उनको रिपोर्टमा कोरोना पोजेटिभ देखियो,’ अस्पतालका एक चिकित्सकले भने ।

नेपालमा कोरोनाबाट मृत्यु भएको पहिलो केस हुन सक्ने भएपछि धुलिखेलबाट उक्त स्वाब थप पुष्टीका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा दुई पटक स्वाब परीक्षण गर्दा पनि उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

सिन्धुपाल्चोकको बाह्रबिसेकी ती महिला २३ बैशाखमा त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन । नर्मल डेलिभरी भएका कारण अस्पतालले उनलाई २५ बैशाखमा डिस्चार्ज गरिदिएको थियो ।

डिस्चार्जपछि दुई दिन काठमाडौंमै बसेर बाह्रबिसे फर्किएकी उनलाई गत बुधबार श्वास प्रश्वासमा समस्या देखिएपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

स्वास्थ्य समस्यामा सुधार नभएपछि बिहीबार उनलाई पुनः एम्बुलेन्समा राखेर शिक्षण अस्पताल ल्याउने क्रममा बाटैंमा स्वास्थ्य अवस्था जटिल बन्दैं गएपछि धुलिखेल अस्पताल लगिएको थियो । त्यही क्रममा उनको मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ