काठमाडौं-दाङमा पहिलो पटक कोरोना भाइरस (कोभिड-१९) संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शुक्रबार दाङमा ३ जना, काठमाडौंमा १ जना, पर्सामा ४ जना र उदयपुरमा १ जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।
नेपालगन्जस्थित प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणका क्रममा दाङ गढवा-४, ५ र तुलसीपुर-७ निवासी २३, ३४ र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा काठमाडौं सतुंगलका ७ वर्षीय बालकमा पनि कोरोना पोजेटिभ देखिएको छ । यस्तै, पर्साको वीरगन्जका ९, १० वर्षीय बालक र २३ र ४७ वर्षीय महिलामा पनि कोरोना पुष्टी भएको हो ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उदयपुर त्रियुगाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।