काठमाडौं—सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यक्रमका लागि २८ अर्ब ३१ करोड ८२ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
उक्त बजेटमा १९ बुँदा समेटिएको छ । बजेटमा अधिकांश कार्यक्रमहरुको निरन्तरता रहेको छ । मन्त्रालयले आकस्मिक शल्यक्रिया र प्राथमिक ट्रमा उपचार सेवाका लागि बढी जोखिमयुक्त स्थान अत्तरिया, राकम कर्णाली, लमही, कुरिनटार, वालिङ, पथलैया र इटहरी रहेका स्वास्थ्य संस्थाहरूमा ट्रमा युनिट स्थापना गरी सेवा संचालन गर्ने भएको छ ।
नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने नीति अनुरूप हालसम्म ५५१ स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार भएको छ । कुल जनसंख्याको १० प्रतिशत जनसंख्या यसबाट लाभान्वित भएका छन् ।
प्रत्येक प्रदेशको कम्तीमा एक अस्पतालबाट विशिष्टकृत स्वास्थ्य सेवा उपलब्ध गराई विशिष्टकृत स्वास्थ्य सेवाका लागि काठमाडौं आउनुपर्ने बाध्यताको अन्त्य गरिने नीतिअनुरूप संघअन्तर्गतका अस्पतालहरू कोशी, भरतपुर, नारायणी, भेरी र डडेलधुरा अस्पतालमा सेवा विस्तार गर्ने भएको छ ।