काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या २४६ पुगेको छ । बिहीबार काठमाडौं, कपिलवस्तु र नवलपरासी पूर्वमा १/१ जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या २४६ पुगेको हो ।
नेपालका ७ वटा मध्ये ६ वटा प्रदेशमा कोरोना संक्रमित भेटिएका छन् । कोरोना संक्रमित नभेटिएको कर्णाली एकमात्र प्रदेश हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २३ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
प्रदेश १ मा हालसम्म संक्रमितको संख्या ३५ जना पुगेको छ । प्रदेश १ का तीन जिल्ला झापा, भोजपुर र उदयपुर जिल्लामा संक्रमण पुष्टी भएको छ । यस्तै, प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । यस प्रदेशका ७ वटा जिल्ला सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा संक्रमित फेला परेका छन् ।
देशको राजधानी रहेको बाग्मती प्रदेशमा कुल संक्रमितको संख्या १० जना पुगेको छ । यो प्रदेशका काठमाडौं, भक्तपुर, धादिङ र चितवन गरी ४ जिल्लामा संक्रमित फेला परेका छन् । यस्तै, गण्डकी प्रदेशमा ३ जनामा संक्रमण देखिएको छ । तीमध्ये दुई जना बाग्लुङ र एक नवलपरासी पूर्वका रहेका छन् ।
प्रदेश ५ मा ५ जिल्लाका ९४ जनामा संक्रमण देखिएको छ । यो प्रदेशमा रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र नवलपरासी पश्चिममा संक्रमण देखिएको छ । सुदूरपश्चिममा २ जिल्ला कैलाली र कन्चनपुरमा ५ जनामा संक्रमण पुष्टी भएको छ । त्यहाँका ५ जना संक्रमित नै निको भएर घर फर्किसकेका छन् ।
अहिलेसम्म नेपालमा २४६ कोरोना संक्रमित भेटिएकामा ३५ जना निको भएर घर फर्किसकेका छन् ।