२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारके सबै कोरोना संक्रमितलाई अस्पतालमै राखेर निगरानी गर्न सम्भव छ ?

के सबै कोरोना संक्रमितलाई अस्पतालमै राखेर निगरानी गर्न सम्भव छ ?


काठमाडौं–कोभिड—१९ को संक्रमण बढेसँगै अब सरकारले संक्रमितको व्यवस्थापन कसरी गर्ला भन्ने चिन्ता थपिन थालेको छ । पछिल्ला दिनमा नियमित २ अंकका दरले बढदैं गएको संक्रमित अबका केही दिनमै अझ बढ्न सक्ने आँकलन विज्ञहरुले गर्न थालेका छन् ।

अहिलेसम्म सरकारले सबै कोभिड—१९ संक्रमितले अस्पतालहरुमा आइसोलेसनमा राखेर निगरानी र उपचार गर्दै गएको छ । उदाहरणको लागि पर्सामा एकैदिन ५७ जनामा कोरोना संक्रमित भेटिएसँगै त्यहाँ कोरोना अस्पतालको रुपमा रहेको नारायणी अस्पतालमा राख्ने ठाउँमा अभावका कारण १८ जनालाई अहिलेसम्म अस्पताल ल्याउन नसकिएको त्यहाँका चिकित्सक डा. उदयनारायण सिंह बताउँछन् । ‘अहिले त्यहा ६९ जना संक्रमित आइसोलेसनमा छन् ।’ डा सिंह भन्छन्बु ‘धवार राती संक्रमण पुष्टी भएका १८ जनालाइ अस्पतालमा ठाउ नभएर ल्याउन सकिएको छैन ।’

यो घटनाले यही गतिमा संक्रमित बढ्दैं गएमा व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता थपेको छ । कोरोना संक्रमण यसरी नै निरन्तर उकालो लागिरहेमा सरकार सबैलाई अस्पतालमै भर्ना गरेर आइसोलेसनमै राखेर निगरानी गर्न सक्छ त ?

‘२ हजार संक्रमित पुगुन्जेल यसरी नै हेर्न सम्भव छ, सरकारले त्यसको प्लान सोहीअनुसार बनाएको छ,’ स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम म्यानेजेमेण्ट अप्रेसन अफिसर्स डा. गुणराज लोहनी भन्छन्, ‘तर, त्यो संख्या सबैतिर छरियो भने मात्र सम्भव हुन्छ । तर, अहिलेको जस्तो निश्चित स्थानहरुमा मात्र थपियो भने असम्भव छ ।’

यसरी नै निश्चित स्थानमा मात्र संख्या थपिए कतिसम्मलाई अस्पतालमै राखेर निगरानी गर्न सक्ला ? ‘एक प्रदेशमा करिब २ सय हाराहारीसम्म,’ मन्त्रालयका एक उच्च अधिकारी भन्छन् , ‘त्योभन्दा माथि संख्या जाने बित्तिकै लक्षण नभएका संक्रमितहरुलाई घरमै आइसोलेसनमा बस्न भन्ने तयारी छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिनाअघि तयार गरेको कोभिड—१९ का लागि स्वास्थ्य क्षेत्र आकस्मिक उद्धार योजनामा नेपालको स्वास्थ्य संस्थाको अवस्था हेरेर चार चरणमा वर्गीकरण गरेको छ । सो वर्गीकरणअनुसार २ हजारसम्म संक्रमित भएमा १ हजार ६ सय जनामा कुनै लक्षण नदेखिने, ३ सयमा सामान्य लक्षण देखिने र १ सय गम्भीर बिरामी भएर आईसीयु र भेन्टीलेटर चाहिन सक्ने आँकलन गरिएको छ । एक महिनामा २ हजार संक्रमित भए सबैलाई अस्पतालमा नै लगेर आइसोलेसनमा निगरानी तथा उपचार गर्ने सरकारले तयारी गरेको छ ।

दोस्रो, २ हजारदेखि ५ हजारसम्म संक्रमित भए ४ हजार लक्षण बिनाका, ७ सय ५० सामान्य लक्षण देखिने र २ सय ५० गम्भीर बिरामी हुने आँकलन गरिएको छ । त्यो अवस्थामा सामान्य लक्षण देखिएकालाई अस्पतालमा आइसोलेसनमा राख्ने र गम्भीर बिरामीलाई आईसीयु र भेन्टिलेटरमा राखेर उपचार गर्ने योजना रहेको बताउँछन् । ‘२ हजार बढी कटेपछि लक्षण नरहेकालाई घरमै सुरक्षित साथ बस्न अनुरोध गर्ने हो,’ उनी भन्छन्, ‘गम्भीर बिरामी र कडा लक्षण देखिएकालाई मात्र अस्पतालमा ल्याउँछौं ।’

मन्त्रालयले तयार पारेको सो योजनाअनुसार एक महिनामा ५ देखि १० हजार संख्या पुगे तेस्रो लेभल पुगेको मानिन्छ । त्यो अवस्थामा सामान्य लक्षण भएकाहरुलाई पनि अस्पतालको आइसोलेसनमा राखिदैन् । त्यो समयमा गम्भीर प्रकारका बिरामीलाई मात्र अस्पतालमा राखेर उपचार गरिन्छ भने लक्षण नभएका र सामान्य लक्षण भएकाहरुलाई स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहेर घरमै आइसोलेसनमा बस्न भनिन्छ । अहिले कोभिड—१९ संक्रमण निकै धेरै देखिएका देशहरुले पनि यही शैलीमा काम गर्दै आएका छन् ।

विश्वको कोभिड—१९ को ट्रेनअनुसार तयार गरिएको यो योजनाअनुसार मासिक १० हजारभन्दा बढी संक्रमित भएका सबै खालका अस्पतालमा कोभिड—१९ को उपचार सुरु गरिने उल्लेख छ । त्यसैगरी लक्षण देखिएर अस्पताल भर्ना गर्नुपर्ने बिरामीको मात्र कोभिड—१९ परीक्षण हुनेछ । त्यो अवस्थामा अन्तर्राष्ट्रिय रणनीतिलाई पनि पछ्याइने उल्लेख छ ।

कति छ हाम्रो स्वास्थ्य संस्थाको क्षमता ?

१५ अप्रिल २०२० को स्वास्थ्य आपतकालीन व्यवस्थापन केन्द्रको तथ्यांकअनुसार कोभिड—१९ उपचारका लागि लेभल तीन (हब अस्पताल)का ३ वटा अस्पताल छन् । लेभल—२ का (डेडिकेटेड) अस्पताल १२ वटा छन् । र लेभल एक (स्याटेलाइट अस्पताल) १३ वटा छन् ।

कोभिड—१९ क्लिनिक संचालन गरिरहेका १ सय ११ बटा अस्पताल छन् । आईसीयु सेवा भएका १ सय ९४ अस्पताल रहेका छन् । त्यसैगरी, देशभर २६ हजार ९ सय ३० बेड छन् । जसमा १ हजार ५ सय ९५ आईसीयुसहितका वेड छन् भने ८ सय ४० भेन्टिलेटर जोडिएका वेड छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ