२०८१ मंसीर ३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ भाइरसको ‘स्वरुप’ अध्ययन गर्दै सरकार

कोभिड—१९ भाइरसको ‘स्वरुप’ अध्ययन गर्दै सरकार


काठमाडौं—सरकारले कोरोना भाइरस (कोभिड—१९) ले नेपाल प्रवेश गर्दा आफ्नो रुप परिवर्तन गरेको अनुमानसहित यस विषयमा अनुसन्धान गर्ने भएको छ । अधिकांश संक्रमितमा लक्षण नदेखिएपछि सरकारले कोरोना भाइरसको ‘स्ट्रक्चर’ बारे अध्ययन अनुसन्धान गर्ने भएको हो । अनुसन्धानमा कोभिड—१९ भाइरसको बनावट, संरचना र त्यसको टाइप हेरिनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाइरसको अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मा दिएको छ । शनिवार साँझसम्म नेपालमा ११० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये अधिकांशलाई लक्षण नदेखिनु र आईसीयुसम्म पुग्ने अवस्था नआएपछि यसले रुप परिवर्तन गरी नेपाल प्रवेश भएको हुनसक्ने अनुमानसहित अध्ययन गर्न लागिएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

एक सय संक्रमितमध्ये ८० जनालाई सामान्य लक्षण देखिने तर १५ प्रतिशतलाई आईसीयु र ५ प्रतिशतलाई भेन्टिलेटर चाहिने विश्वव्यापी अनुमान छ । यो अनुपात नेपालमा म्याच भएको देखिएको छैन । १०९ जना संक्रमित पुष्टि हुँदा कुनै पनि संक्रमित आईसीयु र भेन्टिलेटरमा बस्नु परेन । अझ अधिकाशंलाई कुनै लक्षण समेत देखिएन ।

नेपालमा कोरोना भाइरस शंकाको घेरामा परेको अनुसन्धानकर्ताहरु बताउँछन् । अनुसन्धानको जिम्मा पाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्राज्ञिक संस्था, अस्पताल, वैज्ञानिक, नाष्ट, काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलगायत अनुसन्धानमा लागेका संस्था र व्यक्तिहरुलाई अनुसन्धानमा सामेल गराई वृहत छलफल गरेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार नेपालमा धेरैलाई कोभिड—१९ को लक्षण देखिएको छैन । ‘अन्य मुलुकको तुलनामा नेपालमा युनिक प्रकारको संक्रमण भयो । किनकी धेरैलाई लक्षण नै देखिएन । के कारणले अन्य देशमा भन्दा नेपालमा फरक पर्न गयो यस बारेमा बोल्न अध्ययन नै गर्नुपर्ने भएकाले छलफल सुरु गरेको छ,’ डा. धिमालले बताए ।

नेपालमा देखिएको कोरोना भाइरसको प्रजातिका बारेमा पनि हाल आवाज उठिरहेको छ । त्यस्तै, नेपालीमा रोग प्रतिरोधात्मक क्षमता अरुको भन्दा भिन्न छ कि भन्ने पनि प्रश्न उठेको अधिकारीहरु बताउँछन् । स्रोतले भन्यो, ‘कोरोना नेपालमा कमजोर देखिनु नेपालको हावापानी र खानेकुराको पनि प्रभाव हुन सक्छ । नेपालमा भाइरस भित्र्दा कमजोर भएर भित्रिएको पनि हुनसक्छ ।’ भाइरोलोजिष्टहरुका अनुसार एक व्यक्तिबाट अर्कोव्यक्तिमा भाइरस प्रवेश गर्दा साविकभन्दा त्यसले कडा वा नरम रुप लिनसक्छ ।

चीनदेखि युरोपसम्म पुग्दा कोभिड—१९ फरक—फरक रुपमा पुगेको धिमालले बताए । उपचारमा संलग्न चिकित्सकहरु भन्छन्, ‘नेपालमा संक्रमित व्यक्तिको ट्राभल हिस्ट्री हेर्दा युरोप र भारतबाट आएकाहरु बढी छन् । युरोपबाट आएका संक्रमितमा कडा भाइरस देखिएको छ भने भारतबाट आएकाहरुमा सामान्य देखिएको छ । यो के कारणले भयो वा यो भन्दा बाहिर अरु केही कारण छ कि भनेर खोज्न लागिएको हो ।

कोरोना भाइरसको बनावट, संरचना, त्यसको टाइपबारे गहन अनुसन्धान हुनेछ । अनुसन्धानका क्रममा अन्य देशमा देखिएको भाइरससँग नेपालको तुलना गरिनेछ । विज्ञका अनुसार कोरोना भाइरसका ७ प्रजाती छन् । त्यो मध्ये कोभिड—१९ पनि एक हो । विश्वले कोरोना भाइरसको उच्च जोखिम ६० वर्ष माथि उमेर समूह औल्याएको छ । यो संक्रमितको संख्या नेपालमा १० छ । तर, उनीहरु लक्षणबिहीन अवस्थामा छन् । त्यो अध्ययन नेपालमा नमिलेको विज्ञहरु बताउँछन् ।

५० हजार पिसिआर किट मौज्दात्त भयो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हाल ५० हजार पिसिआरको किट मौज्दात रहेको बताए । किट अभावले पिसिआर प्रविधिबाट हुने परीक्षण अधिकांश ठाउँमा रोकिएको थियो । शुक्रबार स्वीजरल्याण्ड सरकारले ६० हजार पिसिआर किट सहयोग स्वरुप पठाएको थियो ।

सो किट देशभर पठाइएको छ । घट्दै गएको परिक्षणको दायरा पनि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । केही दिन यता दैनिक २ सयको संख्यामा परीक्षण हुँदै आएकोमा बढेर पुन ८ सय माथि पुगेको छ । शनिबार ८१७ जनाको नमुना परीक्षण भएको छ । हालसम्म पिसिआर प्रविधिमार्फत १६ हजार ३०९ जनाको परीक्षण भएको छ ।

३१ जना संक्रमित निको भएँ

नेपालको कोरोना संक्रमितको संख्या ११० पुगेको छ । संक्रमित मध्ये ३१ जना निको भएका छन् । ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कोरोनाको आशंकामा काठमाडौं उपत्यका भित्र २ र बाहिर १ सय ४१ गरी कुल १ सय ४३ जना अस्पतालको आइसोलेसनमा छन् । मुलुकभर हाल १४ हजार ५ सय ९२ जना क्वारेन्टाइनमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ