काठमाडौं-प्रा. डा. प्रेमराज ज्ञवाली भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्ले डा. ज्ञवालीलाई चार वर्षका लागि मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
पहिले प्रत्यारोपणको केन्द्रको गठन आदेशमा कार्यकारी निर्देशक हुनका लागि स्वास्थ्य सेवाअन्तर्गतको सम्बन्धित विषयको विशेषज्ञ हुनुपर्ने व्यवस्था थियो । सरकारले अहिले उक्त गठन आदेश परिवर्तन गरेर नेपाल सरकार अन्तर्गतका निकाय, संस्थान, प्रतिष्ठानअन्तर्गतका सम्बन्धित विज्ञले पनि कार्यकारी निर्देशक हुन पाउने व्यवस्था गरेको छ ।
यसअघि डा. ज्ञवाली त्रिभुवन विश्वविद्यालयका चिकित्सा अध्ययन संस्थानको युरोलोजी विभागका प्रमुख थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दा डा. ज्ञवालीले प्रत्यारोपण टोलीको नेतृत्व गरेका थिए ।
उनले त्रिवि चिकित्सा अध्ययन संस्थानबाट सन् २०१० मा पब्लिक हेल्थमा माष्टर्स गरेका छन् । डा. ज्ञवालीले नेशनल युनिभर्सिटी हस्पिटल सिंगापुरबाट सन् २००३ मा युरोलोजी एण्ड किड्नी ट्रान्सप्लान्टमा फेलोसिप गरेका छन् ।
डा. ज्ञवालीले रेस्टोभ युनिभर्सिटी रसियाबाट एमएस र एमडी गरेका छन् । उनले त्रिवि चिकित्सा अध्ययन संस्थानबाट सर्टिफिकेट इन जनरल मेडिसिन गरेका हुन् । उनी लामो समयदेखि मिर्गौला प्रत्यारोपणमा सक्रिय छन् ।
डा. ज्ञवाली गुल्मीको भारसेमा जन्मिएका हुन् ।
यसअघि प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ थिए ।