जुम्ला – मुलुकभर फैलिदो कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले यतिबेला आमनागरिक त्रसित छन् । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि डेढ महिना देखि देश लकडाउनमा छ । भारत तथा तेस्रो मुलक र जिल्ला बाहिरबाट जुम्ला भित्रिने नागरिकलाई यहाँका स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरेपनि मापदण्ड अनुसार क्वारेन्टाइन नभएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासमा आइतबार रिट दायर गरिएको हो ।
नेपालको संविधान धारा १४४(१)(२) बमोजिम विशेष तथा उपयूक्त अन्तरिम आदेश सहितको परमादेशको आदेश जारी गरी पाउ भनि निवेदक अधिक्ता पदमबहादुर शाहीले रिट दायर गरेका हुन् । मुख्य मन्त्री, मन्त्री परिषद्को कार्यालय, मन्त्री तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयसहित जुम्लाको एक नगरपालिका र सात गाउँपालिका विरुद्ध रिट दायर गरिएको हो । त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी, संयोजक, क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन समिति जुम्लालाई पनि दायर रिटमा विपक्षी बनाएको छ ।
कानुन व्यवसायी अधिवक्ता शाहीका अनुसार मापदण्ड अनुसार क्वारेन्टाइन नभएको, बाहिर जिल्लाबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा नराखिएको, क्वारेन्टाइनमा राखिए पनि निमुख सर्वसाधारण व्यक्तिलाई राखिएको छ । उनले भने बाहिर जिल्लाबाट आएका जो सुकै व्यक्तिलाई क्वारेन्टाइनमा राख्नु पर्ने हो तर पहुच भएको व्यक्तिलाई नराखिएको भन्ने जनगुनासो बढेकोले अदालतमा रिट दायर गर्नु परेको हो । क्वारेन्टाइनमा पनि बसेका व्यक्तिहरुले आवश्यक व्यवस्थापन पनि नभएको भन्ने जनगुनासो बढेपछि अदालतबाट रिट दायर गर्नु परेको उनले बताए । त्यसैगरी क्वारेन्टाइनमा राखिएका व्यक्तिको पनि समयमा कोरोना परीक्षण गरिएको छैन ।
कोरोना परीक्षणका लागि समयमा किट पनि ल्याउन नसकिएकोले अदालतमा रिट दायर गर्नु परेको जनाएको छ । क्वारेन्टाइन स्थापना, संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड ०७६ को विपरित लकडाउनका बीच स्थानीय प्रशासनलाई समेत प्रभाबमा पारी हजारौँ मानिसलाई जिल्ला भित्र्याएकोले कोरोना भाइरस फैलने त्रास बढेको दायर रिटमा उल्लेख गरिएको छ ।
बाहिर जिल्लाबाट गृह जिल्लामा आएका व्यक्तिलाई अनिवार्य १४ देखि १७ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गर्नुपर्ने र स्वास्थ्य परीक्षण गरी रोगको संक्रमण नदेखिएमा मात्र घर जान पाउने व्यवस्था रहेको छ । १० चैत ०७६ देखि जुम्लामा १० हजार ३ सय ४९ जना बाहिरबाट गृह जिल्लामा भित्रिएका छन् । बाहिरबाट आएका मध्ये ६ सय २६ जना क्वारेन्टाइनमा बसेका छन् भने ४ सय ५३ जना १४ दिनपछि क्वारेन्टाइनबाट घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले तथ्यांक सार्वजनिक गरेको छ । त्यसैगरी ५ सय ५८ जना होम क्वारेन्टाइनमा बसेका छन् । ५ सय १ जनाको कोरोना परीक्षण गरिएको सवै जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
जिल्लाभर ७ सय ३४ बेडको क्वारेन्टाइन र १ सय २० बेडको आइसोलेसन अस्पताल रहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर १ सय ३८ जना स्वास्थ्यकर्मी परिचालन भएका छन् भने लकडाउन उल्लघंन गर्ने ६ सय ३५ सवारी साधन प्रहरीले नियन्त्रण गरी कारवाही गरेको प्रशासनको तथ्यांकमा उल्लेख छ ।