-नरेन्द्र रौले
नेपाललगायत अन्य थुप्रै देशहरुमा कोरोना कहरले गर्दा लकडाउन छ । पटक–पटक थपिएको लकडाउनले जनजीवन कष्टकर बन्दै गइरहेको छ । तर, दक्षिण कोरियामा कहिल्यै लकडाउन भएन । जनजीवन सामान्य छ । न मानिसहरु त्रसित छन्, न जनजीवन कष्टकर छ ।
यो हप्ता मैले सोलस्थित हानयाङ युनिभर्सिटीमा ग्लोबल हेल्थमा पिएचडी अध्ययनरत संगीता कार्कीसँग कुराकानी गरें । ‘यहाँ बस्दा कहिल्यै पनि डर लागेन,’ संगीता भन्छिन्, ‘हरेक दिन युनिभर्सिटीले म्यासेज र इमेल गरिरहन्छ । युनिभर्सिटीले निःशुल्क मास्क दिन्छ । बिभिन्न सहयोगी संस्थाहरुले विदेशबाट आएका विद्यार्थीहरुलाई घरमै मास्क पठाइदिन्छौं भनिरहेका हुन्छन् ।’ यस युनिभर्सिटीमा संगीतासँगै चार जना नेपाली विद्यार्थीहरु अध्ययनरत छन् । स्कुल, कलेजहरुले यतिबेला अनलाइन क्लास सञ्चालन गरिरहेका छन् ।
दक्षिण कोरियाका मार्टमा, पसलमा कहिल्यै सामानको अभाब भएन । बाहिरी रुपमा कोरियाका बारेमा जसरी मिडियामा प्रचार भइरहेको त्यो अनुपातमा कोरियामा बस्नेहरुमा डर उत्पन्न भएन । दक्षिण कोरियाको अवस्था सामान्य छ । जनवरी २० मा पहिलो संक्रमण देखिएको थियो । सुरुमा कोरोना संक्रमित देखिँदा मानिसहरु डराएका थिए । थेगु सहरकी एक महिला (केस ३१) जो चीनबाट फर्केकी थिइन् । उनले कोरियाका अरु व्यक्ति पनि कोरोना सारिन् ।
सुरुमा देगु सहरमा यसरी कोरोना देखिएको थियो । यसको कारण के पनि थियो भने उनी प्रार्थनाका लागी थेगुको शिन्छेङ्गी शहरमा तीन पटकसम्म पुगिन् । त्यस चर्चका धेरै शाखाहरु थिए । ती महिलाले कसैलाई टेरिनन् । यसरी कोरियामा कोरोना संक्रमण फैलिदै गएको थियो । शिन्छेङ्गी चर्च र देगु सहरबाट कोरोना थप संक्रमण नफैलियोस् भनेर केही समयका लागि मात्र यहाँ लकडाउन गरियो ।
अहिले हरेक दिन कोरोना संक्रमणका १३/१४ वटा केस फेला परिरहन्छन् । पहिले–पहिले दिनमा १ सय भन्दा धेरै केसहरु भेटिन्थे । अहिले आइसोलेसनमा २३ सय २४ जना छन् । १० हजार ६ सय ७४ जम्मा संक्रमित भएको कोरियामा ८ हजार १ सय १४ जना डिस्चार्ज भइसके । कोरोनाकै कारण अहिलेसम्म २ सय ३६ जनाले ज्यान गुमाइसकेका छन् ।
कोरोना संक्रमणका विरुद्ध कोरियन सरकारले के गरिरहेको छ ?
कोरियाले चार वटा ‘फोर टी’ लाई महत्व दिएको छ । पहिचान, परीक्षण, फ्लोअप, उपचार (फोर—टी) लाई प्राथमिकता दिइएको छ । जतिसक्दो टेस्टिङलाई प्राथमिकता दिइएको छ । विदेशबाट एयरपोर्टमा आउने जति पनि पर्यटकहरु छन्, तिनमा पोजेटिभ पाइयो भने सिधै अस्पताल पठाइन्छ । नेगेटिभ हुनेलाई क्वारेन्टाइनमा । कोही कसै व्यक्तिमाथि शंका लागेमा तुरुन्त सम्पर्क गर्न सकिन्छ ।
त्यसका लागि हरेक ठाउँमा कल सेन्टर राखिएका छन् । कल सेन्टरमा फोन गरेपछि उनीहरु तुरुन्तै लिनका लागि आउँछन् । शंका लागेमा जसले पनि फोन गर्न सक्छन् । परीक्षणका लागि बोलाइहाल्छन् । वा एम्बुलेन्स पठाइदिन्छन् । विदेशबाट आएका मानिसहरुलाई सिसिटिभी फुटेज, क्रेडिट कार्डको डाटा हेरेर ट्रेसिङ र फोनको लोकेसनको आधारमा ट्रयाकिङ गरिन्छ ।
कोरियन सेना तीन दिनभित्रै नयाँ अस्पताल निर्माण गर्न सफल भयो । जसले गर्दा संक्रमित बिरामीहरुलाई उपचार गर्न सजिलो भयो । राजधानी सोलका केही अस्पताल त बन्द गरेर त्यहा डाक्टरहरुलाई कोरोनाले बढी प्रभाबित सहर थेगुमा खटायो । दैनिक १ लाखभन्दा बढीको संख्यामा टेस्टिङ किट उत्पादन गरियो । त्यसपछि यति छिटो काम हुन थाल्यो कि नमुना संकलन गर्न १० मिनेट र त्यसको नतिजा एक दिनभित्रै आउन थाल्यो । यो क्रमले व्यापक तीब्रता पायो । यसले गर्दा पनि कोरोना नियन्त्रणमा आयो ।
कोरियामा ६ सय ३८ स्थानका क्लिनीक आरटी—पिसीआर टेस्टका लागि कोभिड—१९ स्क्रिनिङ सेन्टर सञ्चालन गरिएका छन् । कोरियाले अरु देशभन्दा फरक प्रणाली के अपनाएको छ भने वाक थ्रु, वा ड्राइभ थ्रु, स्क्रिनिङ सिस्टम राखिएको छ । कोही बाटोमा हिंड्दा–हिंड्दै, वा सवारी चलाउँदा–चलाउँदैै पनि थर्मल स्क्यानरमार्फत चेस्ट स्क्यान गरिन्छ । यसबाट कोरोनाको शंका लागेमा आरटी—पिसीआर टेस्टका गर्न लगिन्छ । हाइवे र सबैजसो भवनहरुमा यो सिस्टम वाक थ्रु, वा ड्राइभ थ्रु स्क्रिनिङ सिस्टम राखिएकाले कोरोना संक्रमणलाई न्यून गर्न निकै सहज बनाएको छ । कुनै एरियामा संक्रमित भेटिएमा त्यो क्षेत्रमा बस्नेहरुलाई सरकारले म्यासेज गरेर टेस्टका लागि बोलाउँछ । यदि त्यो ठाउँ छोडेर कोही अन्यत्र गए पनि म्यासेज आउँछ । कोरियासँग अमेरिकाले नै सहयोग माग्ने अवस्थासम्म आयो ।
कोरोनाअघि पनि महामारी फैलिएका थिए । पहिला सार्स र मर्स रोग लागेका बेला सन् २००९ र २०१३ मा पनि कोरियाले सफलता पाएको थियो । त्यो अनुभवले पनि अहिले काम दियो । संकट कसरी व्यवस्थापन गर्ने भनेर अनुभव हासिल गरेको कोरियाले लकडाउन कहिल्यै गरेन । वर्क फ्रम होम, सोसल डिस्ट्यान्स भन्ने मान्यता राखेर काम ग¥यो ।
कोरियामा गुड्ने बस, ट्रेनमा मास्क राखिएको र स्यानिटाइजर राखिएको हुन्छ । सरकारले हप्तामा २ वटा मास्क सस्तोमा किन्न पाइने व्यवस्था गरेको छ । युनिभर्सिटीले हप्ता–हप्ता मास्क बाँडिरहन्छ । सरकारले कोरियन र विदेशी नागरिकहरुलाई बराबर रुपमा हेरचाह गरिरहेको छ । यहाँ स्वदेशी र विदेशी सबैलाई समान रुपमा स्वास्थ्य उपचार गरिन्छ । सबैलाई नेशनल हेल्थ इन्सुरेन्स गरिएको छ । मासिक रुपमा निश्चित रकम तिरेपछि आधारभूत स्वास्थ्य सेवा परीक्षण निःशुल्क गरिन्छ ।
‘लकडाउन मात्रै पर्याप्त छैन । कालोबजारी गर्नेलाई कारबाही गर्नुपर्छ । समस्यामा परेका जनताहरुलाई राहत वितरण गर्नुपर्छ,’ कोरियाकै सोल नेशनल युनिभर्सिटीमा स्पोर्ट्स म्यानेजमेन्ट अध्ययनरत रोमी गिरी भन्छिन्, ‘फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने काम गर्नुपर्छ । विज्ञहरुलाई बढीभन्दा बढी काम गर्ने वातावरण दिनुपर्छ ।’
मानवता, आफ्नोपन, एकता र प्रतिबद्धताको राम्रो नमुना कोरियामा पाइन्छ । यहाँ त्यसको अभ्यास छ । ‘म ढुक्क छु । कोरोना लागिहालेमा क्वारेन्टाइनमा बसेर निको हुने उच्च सम्भाबना छ,’ संगीता थप्छिन्, ‘नेपालमा आफ्नो परिवार सम्झिँदा भने दुःख लाग्छ । देशको अवस्था कहालीलाग्दो छ ।’ नेपालका शासकहरुले पनि कोरियाकै मोडेल अपनाउन सके देशको अवस्था अर्कै हुने उनले बताइन् ।