विराटनगर—नेपाल औषधी व्यवसायी संघ मोरङले बुढीगंगा गाउँपालिका–१ पुष्पलालचोकस्थित महिला जागृती वृद्धा आश्रममा रहेका जेष्ठ नागरिकहरूलाई औषधी र खाद्यान्न वितरण गरेको छ । संघका पदाधिकारीहरूले शुक्रबार आश्रममा पुगेर एक महिनासम्म पुग्ने औषधी र खाद्यान्न वितरण गरेका हुन् ।
लकडाउनको समयमा आश्रममा रहेका वृद्धाहरूलाई औषधी खरिद गर्न समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै औषधी र खाद्यान्न सहयोग गरेको औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । उनका अनुसार आश्रममा रहेका दुई दर्जन जेष्ठ नागरिकलाई एक महिनासम्म पुग्ने औषधी र खाद्यान्य वितरण गरिएको बताए ।
संघले यहाँ रहेका दीर्घरोगको औषधी, भिटामिन, आँखामा समस्यामा भएकालाई आँखामा लगाउने औषधी र खाद्यान्य सहयोग गरेको हो । आश्रममा रहेका वृद्धाहरूलाई प्रेसर, सुगर, कोलस्टोल, थाइराइटल र आँखामा समस्या बिरामीलाई एक महिनासम्म पुग्ने औषधी र खाद्यान्य वितरण गरिएको औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले जानकारी दिए ।
संघका अध्यक्ष तिम्सिना, उपाध्यक्ष ढकाल, महासचिव दिनेश ठाकुर, कोषाध्यक्ष विजय राजवंशी, सचिब हरिराज रेग्मीलगायत र अन्य पदाधिकारीहरूको उपस्थीतिमा औषधी र खाद्यान्य वितरण गरिएको थियो ।
यस अघि पनि मोरङ जिल्लाका औषधी व्यवसायीहरूले विराटनगर– ८ स्थित विराटेश्वर वृद्धाआश्रमा रहेको जेष्ठ नागरिकहरूलाई औषधी र सेनिटाइजर वितरण गरेका थिए । महामारीको रूपमा फैलिएको कोरोना भाइसर (कोभिड—१९) संक्रमणबाट बच्न पाँच लिटर सेनिटाइजर, फिमेल, दिर्घरोगको औषधी र आठ वटा ग्यास सिलिण्डर वितरण गरेका थिए ।