धनगढी—कैलाली हस्पिटलले दाहिने किड्नीको क्यान्सरको जटिल शल्यक्रिया सम्पन्न गरेको छ । शुक्रबार अस्पतालले एक जना ५० वर्षीया महिलाको रेनल सेल कार्सिनोमा (मृगौंलाको एक प्रकारको क्यान्सर)को रेडिकल नेफ्रेक्टोमी (मृगौला निकालिने शल्यक्रिया) सफलतापूर्वक सम्पन्न गरेको हो ।
उक्त जटिल शल्यक्रियामा युरो सर्जन डा. रविनबहादुर बस्नेत, जनरल सर्जन डा. सुरेन्द्र बस्नेत, एन्स्थेसियोलोजिष्ट डा. रोजी पाठक, एन्स्थेसिया एसिष्टेन्ट सरोज पाठक र स्क्रब नर्स लक्ष्मी खत्रीसहितको टिम सहभागी थियो । चिकित्सकहरुले टोलीले झण्डै २ घण्टामा उक्त अप्रेसन सफलतापूवर्क पूरा गरेको थियो ।
‘उहाँलाई पेट दुख्ने दुई महिनादेखि भैरहेको रहेछ, एक हप्ता अगाडि अल्टासाउण्ड गर्दा क्यान्सर देखियो,’ शल्यक्रियामा संलग्न सर्जन डा. सुरेन्द्र बस्नेतले भने, ‘सिटी स्क्यानमार्फत कन्फर्म गरेर शुक्रबार अप्रेसन भएको छ ।’
यस्तो जटिल शल्यक्रिया सुदूरपश्चिममा पहिलो पटक भएको उनले बताए । किड्नीको क्यान्सरको अप्रेसन जटिल प्रकारको अप्रेसन मानिन्छ । शुक्रबार शल्यक्रिया भएको विरामीलाई भोलि (बुधबार) डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ ।