कोरोना भाइरस (कोभिड १९) को प्रकोपले यतिबेला विश्वमा नै महामारीको रुप लिएको छ । नेपालमा पनि कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले लकडाउनलाई कडाइ बनाउने निर्णय गरेको छ । यतिबेला अस्पतालमा स्वास्थ्यकर्मी प्रत्यक्ष परोक्ष रुपमा उपचारमा होमिइरहेका छन् । योसँगै स्वास्थ्यको महत्वपूर्ण विधा मानिएको बायोमेडिकल इन्जिनियरिङमा पनि सबैको ध्यान गएको देखिन्छ । यसैबीचमा हेल्थ आवाजले नेपाल बायोमेडिकल संघका केन्द्रीय सल्लाहकार संयोजक जिवेशजंग कोइरालासँग गरेको संवादः
तपाईंले यस प्रकोपलाई बायोमेडिकल इन्जिनियरिङ विधाको नजरले कसरी हेरिरहनु भएको छ?
वास्तवमा हाम्रो देशमा मेडिकल उपकरणलाई छुट्टै विधाको रुपमा स्वीकार गरेको देखिदैंन् । त्यसैले पनि अस्पतालहरुमा उपकरणको व्यवस्थापनमा चुकेको देखिन्छ । त्यसको परिणाम अहिले भोग्दैंछौं । तपाईंलाई अचम्मै लाग्ला अहिले हामीसँग कति भेन्टिलेटर छन् भन्ने एउटा सामान्य तथ्यांक निकाल्न पनि महिनौं लाग्यो । यो भनेको फितलको बायोमेडिकलको संरचना हो । हाम्रो देशको गम्भीर कमजोरी हो । यसरी हेर्दा सरकार बायोमेडिकल क्षेत्रमा चुकेको देखिन्छ । वास्तवमा सरकारले के गर्नुपर्ने थियो? तपाईंले बाहिरको प्राक्टिस हेर्नुभयो भने प्रष्ट हुनुहुन्छ । प्रत्येक अस्पतालमा बायोमेडिकल शाखाको छुट्टै व्यवस्था गरिएको हुन्छ । जहाँबाट उपकरण सम्बद्ध सबै काम सोही शाखाबाट हुन्छ तर हाम्रोमा यो छैन । उपकरण बिग्रियो भने मात्रै मर्मत गर्नुपर्छ भन्ने धारण छ यो सरासर गलत हो । यदि बायोमेडिकल फाँटको अस्पतालहरुमा अवधारणा ल्याउन सके धेरै समस्याको समाधान हुन्छ । उपकरणको व्यवस्थापनसँगै तालिम, मर्मत, सम्भारलगायतका सबै काम यसैबाट हुन्छ तर यहाँ यो छैन ।
तपाईंको संगठनले यस विषयतर्फ सरकारको ध्यान तान्न के गरेको छ?
यसै कुरालाई मध्यनजर गरेर हामीहरुले बायोमेडिकल विषय पढेकाहरुलाई एकीकृत गरेर नेपाल बायोमेडिकल संघ खोलेका छौं । यसमार्फत हामीहरुले स्वास्थ्य मन्त्रालयलाई प्रतिबद्धता जनाउँदैं निःशुल्क रुपमा देशभरका उपकरणको मर्मतदेखि व्यवस्थापनमा सहयोग गर्छौं भनेका छौं । हिजोमात्र हाम्रो संगठन र म आफै पनि महावीर पुनको संयोजनमा रहेको राष्ट्रिय आविष्कार केन्द्रमा गई भेन्टिलेटरको मर्मतमा सक्दो सहयोग पनि गरेका छौं । यसर्थ, सरकारले चाहन्छ भने हामी निःस्वार्थ सेवामा जोडिन खोजिरहेका छौं ।
कोरोना संक्रमणको बढ्यो भने तपाईंको संस्थाबाट आमसर्वसाधारणले के अपेक्षा गर्न सक्छन्?
सर्वप्रथम त नेपालमा बायोमेडिकलका प्राविधिक एकदमै न्यून छन् । यही धरातलमा टेकेर भन्नुपर्दा मेडिकल उपकरणबिना उपचार गर्न निकै कठिन छ । आइसियुमा भेन्टिलेटरसहित मोनिटर, अक्सिजन पनि त्यतिकै आवश्यक छन् यसको लागि त प्राविधिकको राम्रोसँग व्यवस्थापन गर्न सकिएन भने धरैको उपचारकै क्रममा मृत्यु हुन्छ यसर्थ यो कुरालाई ख्याल राख्नुपर्छ भनिएको हो । आम सर्वसाधारणले पनि यो कुरामा हेक्का राख्नुपर्छ । अर्कोतर्फ राज्य यसमा बढी जिम्मेवार हुनुपर्छ ।
अहिले नेपालमा कति जति जनशक्ति छ? के यस्तो विपत्तिमा सहजै प्राविधिकहरु उपचारमा जोडिएलान्?
सबैले बुझ्नुपर्ने कुरा के भने सबैभन्दा ठूलो त मान्छेलाई आफ्नै पीर हुन्छ । आफू बाँचे अरुलाई बचाउने हो । यदि हामीलाई पनि उचित तवरले व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामाग्री उपलब्ध गराइन्छ भने हामी बिनासर्त राज्यलाई सहयोग गर्न तयार छौं । अहिले हामीसँग देशभरबाट करिब २०० जना बायोमेडिकल प्राविधिक सहयोग गर्न सहमत हुनुहुन्छ ।
अन्त्यमा, मेडिकल उपकरणमा हिसाबले हामी कस्तो अवस्थामा छौं? देशभरको अवस्था के छ?
हामी उपकरणका हिसाबले कठिन अवस्थामै छौं । मैले भर्खरमात्र कोल्डचेनका लागि देशका विभिन्न ठाउँमा उपकरणको जिम्मा लिएको थिएँ । त्यसमा म स्वंय फिल्डमा खट्दा थुप्रै सानो–सानो व्यवस्थापनमा चुकेको देखेको छु । यसर्थ पनि सहि ढंगले नलाग्ने हो भने मेडिकल उपकरणले ज्यान बचाउन सक्छन् भनेर भन्न सकिन्न । फेरि यस्तो विपत्तिको बेला निराशाभन्दा पनि बढी आशावादी भएर अगाडि बढ्नुपर्छ । सबैको सबैतिरबाट योगदान भए गाह्रो–साह्रो भएपनि यस विपत्तिबाट हामी पार अवश्य लाग्छौं ।