मेरा कान दुखे हिजो खबरमा सुन्दा, लियो ज्यान लौ,
खै कोसँग भनुँ तिमी भनन ए कल्ले दियो, ध्यान लौ ।।
झाडाले जनता मरे, सबल याँ पाएन पानी सफा,
आमाबाबु रुए कठै अकालमा, गुमाई साथी सखा
आमाको ममता नदेखी बिचरा, हुर्किन्छ रे गोठमै
कर्णाली रुकुममा ज्वरो ती टुहुरी, मर्छे सिटामोल खै ।।
यस्तै रीति दिनै सुनिन्छ किन हो, लाचार को खै भएँ
जाबो नुन चिनी वरै सुलभ खै अन्याय साह्रै गरे,
दुख्दा पाउ कठै विदेश सफरी, हाम्रा यी नेता घुमे
दुर्गममा बिचरा इमानी जनता भोकैमरीले गुमे ।
सानी बच्ची हुँदा लिएर सपना, पढ्दै म बढ्दै गएँ
बौलाहा घटना सुनेर यहाँ, झस्केर दुःखी भएँ
आला हो चिनिने अपार गहना, रोगी उ जाँच्ने अरे
सेतो कोट दह्रो रक्षा कवच लौ, हेल्मेट राख्ने अरे ।।
बोराको धनले किनेर पलमै, धज्जी उडाइदिँदा,
मेरो रुन्छ मनै छलेर सबको, पेशा बिगारीदिँदा,
कस्तो नीति थिती बिछट्ट भ धनी, डग्दैन नेपालमा
सोझा साँधु तिमी, नकाम नगरी चल्दैन नेपालमा ।।
निन्द्रा छोडी सधैं बिमारपछि दौडिन्छम् अठोट गरी,
गाली झै–झगडा उठेर सबमा, ड्युटी सबेरै भनी,
सेवा नै धरम भनेर घरमा, जुट्छौ सदा कर्ममा,
छोपी आँसु बरै हँसाउन सधै, बिमारको मर्ममा ।।
माता बाल कठै न हो खबर लौ, बाबा समाते शिर,
दुःखीको सहारा बनेर म सधैं, कालो हटाउँ पिर,
सत्कर्मी बन हे समाज हँसिलो, देखिन्छ हामी जुटे,
आमा हाँस्छिन हो मिले मुसमुसै, नेपाली हामी जुटे ।।