काठमाडौं–कोरोना भाइरस (कोभिड–१९) प्रभावित देशहरुबाट आएका नेपाली तथा विदेशी नागरिकले भरेको होम क्वारेन्टाइन फर्ममा समस्या देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कमा कोरोना प्रभावित देशबाट आएका ५० हजार यात्रुले भरेको होम क्वारेन्टाइन फर्म संकलन गरिएको थियो ।
तर, सरकारले मंगलबारसम्म ३ हजार ५ सयको मात्रै होम क्वारेन्टाइन फर्म इन्ट्री गरेको छ । यसमा पनि धेरै विवरण अपुरो भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सरकारले गत फागुन २९ गतेदेखि विदेशबाट आएका यात्रुहरुको व्यक्तिगत विवरण विमानस्थल हेल्थ डेस्कमा राख्न थालेको थियो ।
अध्यागमन विभागले पनि २ चैतदेखि लागु हुने गरी नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरेको हो । साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा होम क्वारेन्टाइनमा बस्न अनिवार्य फारम भर्नुपर्ने व्यवस्था गरेको थियो । स्वास्थ्य मन्त्रालयकाअनुसार ९ चैतदेखि अन्तर्राष्ट्रिय उडान पूर्ण रुपमा बन्द भएपछि फर्म भराउन बन्द गरिएको थियो ।
यता भारतबाट प्रदेश गरेका छुट्टै ४१ हजार बढीको विवरण स्थानीय तहमा संकलन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनीहरु स्थानीय सरकारको निगरानीमा रहेका छन् । तर, विमानस्थलबाट आएकाको होम क्वारेन्टाइन फर्म इन्ट्री हुन नसक्दा उनीहरुको अवस्थाबारे मन्त्रालय बेखबर हुन पुगेको छ । बाहिरबाट आएका व्यक्तिहरुको स्वास्थ्य अवस्था र सुरक्षित रुपमा घरमा भए नभएकोबारे जानकारी लिन त्रिभुवन विमानस्थलको हेल्थ डेस्कले यात्रुहरुको व्यक्तिगत विवरण भर्न लगाइएको हो ।
‘यात्रुहरुबाट भराइएका फारमलाई कम्प्युटरमा सारेर त्यसबाट तथ्यांक बनाउनुपर्ने हो । तर, त्यो हालसम्म प्रभावकारी रुपमा भएको छैन्,’ महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले भने । २० दिनमा पनि अझै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कम्प्युटरमा सारेर त्यसबाट तथ्यांक बनाउने काम गरिरहेको छ । तर, अहिलेसम्म ३५ सय मात्रै सकिएको छ । तीन सय स्वास्थ्यकर्मी फाजिलमा काठमाडौं नेपाल कोभिड–१९ सम्भावित संक्रमण रोक्न तीब्र तयारी थालिएका बेला स्वास्थ्य मन्त्रालयका ३ सय कर्मचारी फाजिलमा रहेको पाइएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार अहिले पनि तीन सयभन्दा बढी स्वास्थ्यकर्मी फाजिलमा छन् । उनीहरुले कुनै पनि काम गरेका छ्रैनन् । त्यस्तै धेरैजसो कर्मचारीहरु लक डाउनले कार्यालय गएका छैनन् । ‘यो बेला उनीहरुलाई काममा लगाएर जतिसक्दो चाँडो विवरण संकलन गरी होम क्वारेन्टाइनमा बसेकाहरुको अवस्था बुझ्न सकिन्थ्यो त्यसो हुन सकेन्,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । विदेशबाट आएका क्वारेन्टाइनमा बसेनन् विदेशबाट आएका ५० हजार व्यक्तिले विमानस्थलमा होम क्वारेन्टाइनका लागि व्यक्तिगत फर्म भरेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले फर्म भर्ने सबैको इन्ट्री गरी उनीहरुसँगै प्रत्येक दिन सम्पर्क गर्नुपर्छ । तर, तीन हजारभन्दा बढीको रेकर्ड राख्न सकेका छैनन भने संक्रमित व्यक्तिको वरिपरिको मात्रै पहिचान गर्ने काम भएको छ । मन्त्रालयको कल सेन्टरमा धेरै व्यक्तिहरु होम क्वारेन्टाइनमा नबसेको गुनासो आएपनि महाशाखाले विवरण सूचीकृत गर्न नसक्दा अवस्था बुझ्न सकेको छ्रैन । फर्म भरेर दिनहुँ उनीहरुसँग सम्पर्क गर्ने काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको हो ।
यता महाशाखाले भने सुरुमै गलत सिस्टमले गर्दा सबै विवरण कम्प्युटरमा राख्न सम्भव नभएको बताएको छ । ‘हाम्रो मेकानिजम सुरुबाटै बिग्रिएको रहेछ,’ महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले भने, ‘फर्म भरेकाहरुलाई दैनिक कुनै समस्या छ कि छैन भनेर फ्लो गर्नुपर्छ । त्यसका लागि यो क्वारेन्टाइन फर्म भर्न लगाएको हो ।’ यो फर्म भर्नुको अर्थ आइसोलेसनमा बसे नबसेको हर्ने हो । तर, यो सम्भव भएन । दैनिक ५० हजारलाई सम्पर्क गर्ने जनशक्ति नभएको पनि महाशाखाले बताएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले ५० हजारको व्यक्तिगत विवरण इन्ट्री गर्न नसकिने बताए । ‘सफ्ट्वेर कसले बनायो ? भर्ने को हो ? अहिलेसम्म एकिन छैन त्यसैले यो महाशाखाबाट सम्भव छैन्,’ उनले भने । विमानस्थलमै कम्प्युटरमा इन्ट्री गर्नुपर्ने फर्म महाशाखालाई भिराइएको उनको गुनासो छ । ‘अब हामी स्वास्थ्य अनुसन्धान परिषदलाई पठाउँछौं उसैले अनुसन्धान गर्छ,’ पाण्डेले भने ।
दिनको दुई हजारका दरले इन्ट्री भयो भनेपनि ५० हजारको विवरण इन्ट्री गर्न दुई महिना समय लाग्छ । तर, हरेक विमानबाट आएका व्यक्तिहरुको बेग्लै विवरण राखेका कारण संक्रमण पुष्टि हुनासाथ उनिहरुलाई सम्पर्क गर्न सहज हुन्छ । अहिले महाशाखाले संक्रमण पुष्टि भएपछि मात्रै फोन सम्पर्क गरी जानकारी लिने गर्दै आएको छ ।