२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल

फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल


काठमाडौं–स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिने बताएका छन् । आइतबार चीनबाट आएका स्वास्थ्य सामाग्रीबारे बुझ्न त्रिभुवन विमानस्थलमा पुगेका मन्त्री ढकालले यसको प्रत्याभूति गराउनका लागि मन्त्रिपरिषद्बाट निर्णय भैसकेको समेत जानकारी दिए ।

‘स्वास्थ्यकर्मीको ५० प्रतिशत, १०० प्रतिशतको सुविधा वृद्धि गर्ने, विमाका अतिरिक्त यो अप्ठ्यारो अवस्थामा उपस्थित भएर सेवामा सलग्न रहनुभएका, फ्रन्टलाइनमा रहेर काम गर्नुभएका सबैको जिम्मा राज्यले लिन्छ,’ उनले भने, ‘यसको प्रत्याभूति हामीले गराउँछौं भनेर पहिले क्याबिनेटबाट निर्णय गराइसकेका छौं ।’

मन्त्री ढकालले कोरोना रोगसँग सम्बन्धित आवश्यक स्वास्थ्य सामाग्री मन्त्रालयको तर्फबाट मात्रै नभएर चिकित्सकहरुको टिमका सिफारिसका आधारमा मगाइएको बताए । ‘उहाँहरुसहित बसेर हामीले यो लिष्ट डाउन गरेर सामाग्री लिनका लागि पठाएका छौं’ उनले भने, ‘सबै सामाग्रीहरु सेटमा हामीले प्राप्त गरेका छौं । जुन परिणाम हामीले भनेका थियौं, एउटैं प्लेनमा नअटेका कारण अर्कोमा पनि ल्याउनुपर्ने अवस्था रहेको छ ।’ उनले सबै सामाग्री आएको छैन् भन्नुको अर्थ उपचारमा चाहिने सामाग्री आउन बाँकी नरहेको बताए ।

उनले पीपीई डेढ लाख, दुई लाख ल्याउने योजना बनाएकोमा त्यति नै नआएपनि अहिले तत्कालका लागि काम गर्ने परिणाममा आएको उल्लेख गरे । ‘त्यसलाई वितरण गर्छौ, फेरि ३ तारेखमा आइहाल्छ,’ उनले थपे, ‘रिएजेन्टहरु हामीले ल्याएका छौं । ल्याब टेष्ट गर्नका लागि पीसीआर मेसिनहरु हामीले ल्याएका छौं । त्यो अतिरिक्त यो सँग संलग्न चाहिनुपर्ने चीजहरु यो चाहिँ आएन, त्यसले गर्दा अब काम गर्न अप्ठ्यारो भो भन्ने अवस्थामा हामी छैनौं ।’

चीनबाट तत्काल चाहिनेजति सामाग्री ल्याइएपछि यसले स्वास्थ्य क्षेत्रका काम गरिरहेका डाक्टर, नर्सहरुदेखि अरुको पनि यसले मनोबल बढाउने उल्लेख गर्दै मन्त्री ढकालले यसबाट जनतालाई आश्वस्त गर्नका लागि सहयोग पुग्ने बताए । अहिले प्रदेश र स्थानीय तहमा शंकास्पद कोभिड–१९ को संक्रमण आशंकामा क्वारेन्टाइनमा राखेका व्यक्तिहरुको नमुना हवाईजहाजमार्फत काठमाडौं ल्याउनु परिरहेको उल्लेख गर्दै उनले अब त्यो स्थितीको अन्त्य हुने उल्लेख गरे । ‘आम रुपमा धेरै व्यक्तिहरुमा परिक्षण गराउनका लागि पनि यसले सहजता प्राप्त गरेको छ,’ उनले भने ।

चीनबाट खरिद गरेर ल्याइएका अत्यावश्यक स्वास्थ्य सामाग्रीको खरिद प्रक्रिया र मुल्यका विषयमा प्रश्न उठिरहेका बेला मन्त्री ढकालले खरिदमा कुनै तलबितल नभएको उल्लेख गरे । ‘यसका बारेमा मैले अहिले धेरै टिप्पणी गरिहाल्नु पर्दैन भन्ने लाग्छ । यो प्रक्रियाका हिसाबले र अन्य विषयका बारेमा कुनै पनि यसमा तलबितल छैन्,’ उनले भने । मन्त्री ढकालले खरिद पूर्व मन्त्रालयमा समितिले बैठक गरेर नै एकदिनको म्याद राखेर सार्वजनिक सूचना गरेको र त्यसबाट लिखित रुपमा दर्ज भएका दुई वटामध्येबाट नेगोसिएसन कमिटी बनाएर भरपर्दो र सहमतिमा पुगिएकासँग खरिद प्रक्रिया अगाडि बढाइएको दावी गरे ।

उनले काम नहुन्जेलसम्म काम भएन सामाग्री भएन भनेर जनतालाई निराश बनाउने काम गरिएको र अहिले सामाग्रीहरु आएपछि अतिरन्जित विषयले प्रोत्साहन पायो भनेर विषय डाइभर्ट गर्ने प्रयत्न गरिएको आरोप लगाए । ‘ती प्रवृति हाम्रा काम र व्यवहारबाट विस्तारै ध्वस्त हुँदै जान्छन् । यसलाई भनेर कुनै जवाफ दिनु पर्दैन्, व्यवहारबाटैं जवाफ दिनुपर्छ भन्ने कुरामा म एकदम प्रतिवद्ध छु,’ उनले भने, ‘अहिले शब्दमा जुहारी खेल्नुभन्दा पनि व्यवहारबाटैं यी सबै कुराको जवाफ दिनुपर्छ । यसको जवाफ सबै सन्तुष्ट हुने गरी दिन सक्छु भन्ने कुरामा म दृढ विश्वस्त छु ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ