विराटनगर-कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण तथा आवश्यक कार्य गर्नका लागि प्रदेश १ सरकारले ३ करोड बजेट निकासा गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतका कार्यालय तथा स्थानीय तहमा सञ्चालित हेल्थ डेक्स सञ्चालनलगायतका लागि ३ करोड बजेट निकासा गरिएको हो।
मन्त्रालय अन्तर्गतका कार्यालय र १४ वटा विभिन्न जिल्लाका स्थानीय तहलाई कोभिड १९ संक्रमण रोकथामका लागि हेल्थ डेस्क सञ्चालनलगायत कोरानास्ँग सम्बन्धित कार्यका लागि औषधि तथा औषधिजन्य सामाग्री खरिद तथा व्यवस्थापनका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई ५० लाख, प्रदेशअन्तर्गतका १३ वटा अस्पतालहरुलाई ९५ लाख, प्रदेशअन्तर्गतका १४ वटा स्वास्थ्य कार्यालयहरुलाई २२ लाख ५० हजार, विभिन्न १४ वटा न.पा./गा.पा.हरुलाई ८० लाख र स्वास्थ्य निर्देशनालय, धनकुटालाई समेत गरी ३ करोड निकासा पठाइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।
उनका अनुसार कोभिड १९ को संक्रमणबाट स्वास्थ्य सम्बन्धि तथा सो कार्यमा संलग्न हुने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्सका चालकहरुलाई संक्रमण हुनबाट बच्नका लागि विभिन्न सरकारी, निजी अस्पताल, स्वास्थ्य कार्यालय लगायतलाई (पीपीई) व्यक्तिगत सुरक्षा सामाग्री २ सय ११ थान, ज्वरो नाप्ने मेसिन १६ थान, सर्जिकल मास्क ५ हजार थान, सर्जिकल ग्लब्स ७ हजार २ सय जोडी, हेण्ड सेनिटाइजर १ हजार २ सय ५० थान उपलब्ध गराइएको छ ।
सामाजिक विकास मन्त्रालयले विशेष गरी संक्रमण भएका बिरामीको हेरचाह, उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मीलगायत सो कार्यमा खट्ने कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि मध्यनजर गरी त्यस्ता सामग्रीको निरन्तर व्यवस्थापन गरिरहेको जनाएको छ ।
प्रदेशका विभिन्न अस्पताल र स्वास्थ्य निकायमा प्रत्यक्ष रुपमा खट्ने सबै चिकित्सक, स्वास्थ्यकर्मीहरुको उच्च सम्मान गर्दै भविष्यमा समेत
उच्च मनोबलका साथ निरन्तर सेवामा लाग्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।