धनगढी—नेपाली सेनाले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरणका लागि ९ वटै जिल्लामा सक्रियता देखाएको छ । कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको त्रिनगर भन्सार नाकामा सेना स्वास्थ्यकर्मीको टोलीसहित खटिएको छ ।
त्यसैगरी, पहाडी जिल्लाका बसपार्क र सदरमुकामलगायतका क्षेत्रमा पनि सेनाका युनिटहरुले स्वास्थ्य परीक्षणका साथै अन्य अस्थायी पूर्वाधार निर्माणमा प्रदेश सरकार र स्थानीय तहसित समन्वय गरेर सक्रियता जनाइरहेका छन् ।
सेनाका सुदूरपश्चिम पृतनापति उपरथी बालकृष्ण कार्कीले सोमबार बिहान पश्चिम नाका गड्डाचौकीको स्थलगत अनुगमन गरेको छन् । उनले भीमदत्तनगरको सिएमए छात्रावासमा सेनाको श्री नं. २५ बाहिनी अड्डाले निर्माण गरिरहेको आइसोलेसन केन्द्र, बसपार्कमा सेनाको सिंहशार्दूल गुल्म र प्रहरीले स्थापना गरेको हेल्प डेस्क पनि अनुगमन गरी थप प्रभावकारी बनाउन मातहतलाई निर्देशन दिएको सुदूपश्चिम पृतनाको सैनिक स्रोतले जानकारी दिएको छ ।
त्यसैगरी, महाकाली अस्पतालमा रहेको क्वारेटाइनको समेत अनुगमन गर्दै सैनिक अधिकृतहरुले स्वास्थ्यको पूर्व तयारीका विषयमा पनि चिकित्सकहरुसित परामर्श गरेका छन् ।
गत शुक्रबारदेखि गड्डाचौकीमा खेटिएको सेनाको चिकित्सकसहितको टोलीले तीन दिनमा करिब २० हजार नेपालीको स्वास्थ्य परीक्षण गरेको थियो । सेनाले सुदूरपश्चिम भरीका युनिटभित्र पनि कोरोनाको संक्रमण फैलिन नदिन व्यापक सर्तकता अपनाएको छ ।
सेनाले संक्रमण न्यूनीकरणका लागि सैनिक टोलीलाई तयारी अवस्थामा राखेको जनाएको छ । ‘यस्तो विपत्तका बेला सेना व्यारेकमा चुप लागेर बस्ने कुरै आउँदैन्,’ सैनिक स्रोतले भन्यो, ‘उच्च सर्तकता अपनाउन रातदिन नभनेर सरोकारवाला निकायसित समन्वय गरी अघि बढिरहेका छौं ।’