नेपाली समाजका अधिकांश सर्वसाधरण आफै पनि दैनिक गुजाराको लागि रोजीरोटीमा नै व्यस्त छन् । त्यसैले दाँत तथा मुखको स्वास्थ्यमा उचित ध्यान राख्नै सक्दैनन् । मुख सम्बन्धी स्वास्थ्यको महत्वको बारेमा बुझने केही छन् ती मध्येमा पनि भ्रमपूर्ण कुराहरुको विश्वासमा अडिने धेरै छन् । शिक्षित मानिने केही शहर र समुदायको अलवा अन्यत्र हुनेहरु खासै यी सवालमा विशेष रुपले चासो नै राख्दैनन् । अझ गाउँका विकट दुरदराजमा बस्ने अधिकांश नेपाली एउटा सामान्य झाडापखाला र छाउपडीको कुसंस्कृतिबाटै मृत्युको मुखमा पुग्न बाध्य छन् भने तिनीहरुमा दन्त सम्बन्धी चासो त्यसैपनि न्यून छ ।
डेण्टल क्लिनिकमा गई दाँत सफा गर्दा हल्लिने र अझ बिग्रने हुन्छ भन्ने धेरैको आम बुझाई छ । हामी नेपालीमा फोहोर दाँत बाहिर निस्किदाँ र गिँजाको भाग हल्लिने अवस्थासम्म आइपुग्दा मात्रै सफा गर्ने भन्ने सोच छ, त्यो जमेको ढुङ्गा जस्तो फोहोर गिँजालाई दाँतको जराबाट हटाएर रुखको जरामा माटो नभएको जस्तो बनाइदिने अवस्था छ। यो ढुङ्गा जस्तो फोहोर एकै दिनमा बन्ने होइन । हामीले नियमित रुपमा मुखको सरसफाइमा ध्यान नदिदाँ महिनौ लगाएर यो बन्ने गर्दछ । यसमा हाम्रो लापरवाही नै मुख्य जिम्मेवार छ र यो समस्या यसैबाट सृजित भएको छ ।
रातिको खानामा खाइने परिकार दुई दाँतको बीचमा अड्किने र त्यसलाई ब्रसले पनि निकाल्न असहज हुने खानालाई डेण्टल फ्लस भन्ने धागोले दुई दाँतको बीचमा पारेर निकाल्नुपर्छ । दाँत मुख्यतया दुई भागमा बाँडिएको हुन्छ । गिजा भन्दा माथि जुन धेरै नै कडा हुन्छ र हामीलाई त्यसमा चिसो तातो नि लाग्दैन तर निजा भन्दा तलको दाँतको भाग जसलाई जरा भनिन्छ त्यो त्यति कडा नहुने हुनाले त्यसलाई गिजाले छोपेर सुरक्षा दिइरहेको हुन्छ तर त्यस गिजालाई फोहोरले हटाइदिने र दाँतलाई लामो बनाइदिने हुन्छ । त्यसै फोहोर हटाउँदा हामीलाई सिरिगं हुने, चिसो तातोको अनुभव बढी हुने र दाँत नै हल्लिने अवस्थामा पुग्ने गर्दछ ।
सुरुको अवस्थामा मुख गनाउने र ब्रस गर्दा हल्का रगत आउने हुन्छ । त्यसलाई पनि वेवास्ता गर्दा संक्रमण बढ्ने बोल्दा, खाँदा, थुक्दा रगत देखिने हुन्छ जसलाई क्रोनिक गिजाको संक्रमण भनिन्छ। विभिन्न तरिकाबाट उपचारको लागि आवश्यक भैसकेको जानकारी मुखमा रगत आएर दिएपनि वास्ता नगर्दा दाँत हल्लिने र चपाउँदा दुख्ने हुन्छ । यसै अवस्थामा प्रायः आम मानिस दाँतको सफाई गर्न पुग्ने हुदाँ यो भ्रम फैलिएको हो । साथै दक्ष दन्त चिकित्सकले दाँत माझ्ने तरिका, उचित समय र एक हप्ताको विशेष हेरचाह आदिका बारेमा सहि जानकारी नदिदाँ पनि समस्या ज्यूँका तहीँ पहिलेकै अवस्थामा रहने वा बिग्रने हुन्छ ।
सजकता देखाउने समयः
गिजाबाट रगत आउँदा, महिला महिनावारी हुँदा, दम्पत्तिले आफ्नो परिवार योजना बनाउन पूर्व वा गर्भवती हुदाँ समेत दाँत र गिजा चेक जाँच गराउँदा राम्रो हुन्छ । महिला गर्भवती भएको पहिलो तीन महिनामा र अन्तिम तीन महिना उपचार गर्न असहज समय मानिन्छ ।
त्यसैले गिजाको दाँतमा किरा लागेको बुद्धि बंगारा आउने क्रम आदिको बारेमा चेक जाँच गरी आफ्नो पारिवारिक सोच बदल्दा उत्तम देखिन्छ । जस्तै एउटी पाँच महिनाको गर्भ भएकी महिला दाँतको समस्या लिएर आउँछिन भने त्यस अवस्थामा तिनलाई राम्रोसँग कुल्ला गर्न र पिलेन प्यारासिटामोल बाहेक अरु उपचार सम्भव छैन ।
त्यसैले दाँतको गिजाको सफाई जुन नियमित ब्रस र कुल्लाले हुँदैन्, त्यसलाई मेसिनको सहायताले प्रत्येक ६-६ महिनामा सफा गर्नु अनिवार्य मानिन्छ । दाँत सफा गर्ने भनेको कालो दाग हटाउने मात्र होइन । फोहोर हटिसकेपछि त्यसले ढाकेर-छोपेर बसेको अन्य समस्याको पनि पहिचान गरी निवारण गर्नु पनि हो । यसबाहेक हाल कोरोना संक्रमणको भय फैलिरहदा यससम्बन्धि दन्त चिकित्सक एवम् बिरामीहरुले पनि उच्च सर्तकता अपाउनु पर्ने देखिन्छ ।
विशेषगरी यो रोग हावा, पानी तथा श्वासप्रश्वासको माध्यमबाट एकबाट अर्काेमा सजिलै सर्ने भएकोले संक्रमित दन्त चिकित्सक र बिरामीबाट एक आपसमा नसर्ला पनि भन्न सकिदैन । यसैगरि कहिँलेकाँहि उपचारको क्रममा हावा पानीको प्रेसर मुखमा पर्दा पुनः फर्किएर त्यो चिकित्सकको मुखमा पनि पर्न सक्ने स्थिति सिर्जना हुन सक्छ । यसका साथै उपचार गर्ने क्रममा चिकित्सक तथा बिरामीको दूरी २५ देखि ४० सेन्टिमिटरसम्म मात्रै हुने भएकोले यस समयमा अझ यो एकबाट अर्काेमा सर्न सक्ने भय उच्च रहन्छ । तसर्थ यस्तो जोखिमपुर्ण अवस्थाबाट बच्नका लागि उपचार गर्ने चिकित्सकले अनिवार्य रुपमा सुरक्षित मास्क तथा पञ्जाको प्रयोग गर्नुपर्छ ।