२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआफ्ना घर आइसोलेसनका लागि निःशुल्क प्रयोग गर्न दिने घोषणा

आफ्ना घर आइसोलेसनका लागि निःशुल्क प्रयोग गर्न दिने घोषणा


काठमाडौं—संसारभर कोरोना भाइरस (कोभिड—१९) महामारी फैलिएसँगै सहयोगी हातहरु जुर्मुराउन थालेका छन् । केही दिनअघि पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आफ्नो होटललाई अस्पताल बनाउने घोषणा गरेका थिए ।

ठ्याक्कै त्यही शैलीमा दुई जना नेपालीले आफ्ना खाली रहेका घरका कोठाहरु आइसोलेसनमा बस्न चाहनेहरुका लागि निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । सोमबार साँझ भैसेपाटीका लालचन्द्र गौतमले फेसबुकमा कुलेश्वरस्थित खाली घरको फोटो अपलोड गर्दै आइसोलेसन र क्वारेन्टाइनका लागि आश्रय लिन चाहनेहरुलाई निःशुल्क प्रयोग गर्न दिने बताएका छन् ।

गौतम र उनकी श्रीमती वन्दना पौडेलले बिक्री गर्न निर्माण गरेको घरलाई कोरोना विरुद्ध लड्न मद्धत गर्ने भन्दैं आइसोलेसनको जरुरत परेका नेपाली वा विदेशीलाई निःशुल्क आश्रय दिने उल्लेख गरेका छन् । ‘नेपाल सरकारले रातारात अस्पताल बनाउन सक्दैन्,’ उनले लेखेका छन्, ‘यदि नेपाल सरकार वा कुनै पनि गैरनाफामूलक संस्थाले यसलाई अस्थायी अस्पतालमा रुपान्तरण गर्न चाहन्छ भने म घर सित्तैमा प्रदान गर्नेछु ।’ उनको साढे चार तले घर रहेको छ।

त्यसको केही घण्टा नबित्दैं  चिराग गोयलले पनि आफ्नो सिफलस्थित खाली घर कोरोना विरुद्ध लड्न मद्दत गर्ने भन्दै आइसोलेशनको जरुरत परेका नेपाली वा विदेशीलाई आफ्नो खाली घरमा निःशुल्क आश्रय दिने जनाएका छन् ।

‘एक विदेशीलाई काठमाडौंमा एक्लै बस्नको लागि ठाउँ खोजिरहेको र होटल किन्न नसक्ने पोष्ट देखेपछि हामीले यो घरमा १४ दिनको क्वारेन्टाइन अवधिको लागि निःशुल्क रहनको लागि दिने निर्णय गरेका छौं,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘यो परिस्थिती हातबाट बाहिर गएको अवस्थामा सरकारले सबैलाई हेर्न सक्दैन् । यदि सरकार वा कुनै नाफा नकमाउने संस्थाले परिस्थितिलाई लड्नका लागि अस्थायी अस्पताल बनाउन चाहन्छ भने हामी यसलाई निःशुल्क प्रदान गर्नेछौं ।’ उनको उक्त घरमा ९ कोठा, ३ वटा शौचालय रहेको जनाएका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ