२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकोरोनाको पूर्व तयारी : अस्पतालमा ‘आइसोलेशन कक्ष’, सीमामा उच्च निगरानी

कोरोनाको पूर्व तयारी : अस्पतालमा ‘आइसोलेशन कक्ष’, सीमामा उच्च निगरानी


धनगढी—कोरोना भाइरस (कोभिड– १९) का शंकास्पद बिरामीका लागि सुदूरपश्चिम सरकारले प्रदेश तथा सबै जिल्ला अस्पतालमा ‘आइसोलेशन कक्ष’ स्थापना गरेको छ । आवश्यक स्वास्थ्यकर्मीसहित कक्ष स्थापना गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।

‘शंकास्पद देखिएका बिरामीको उपचारका लागि अस्पतालमा दुई शैय्यासहितका आइसोलेसन कक्ष स्थापना गरेका छौं,’ उनले भने, ‘सीमा क्षेत्रमा राखिएका स्वास्थ्य हेल्थ डेस्कमा तयारी अवस्थामा एम्बुलेन्ससमेत राखिएको छ ।’ उनले प्रदेशले कोरोना जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गरेको उल्लेख गरे ।

कञ्चनपुरको महाकाली, कैलालीको सेती अस्पतालसहित अन्य जिल्ला अस्पतालमा सो कक्ष स्थापना गरिएको जनाइएको छ ।

कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेका हेल्थ डेस्कमा एम्बुलेन्सको व्यवस्था गरिएको छ । ‘आइसोलेसन कक्षसहित स्वास्थ्यकर्मीको व्यवस्था भइसकेपनि आवश्यक औषधि र उपकरणका लागि आपूर्ति शाखालाई भनेका छौं’, सूचना अधिकारी खड्काले भने ‘एक÷दुई दिनभित्र त्यसको पनि व्यवस्था हुन्छ ।’ शंकास्पद बिरामीको खकार, सिंगान र रगतको नमुना संकलन गरी जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पतालले प्रदेशमा रहेको प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ ।

संकलित नमुनाको पहिचान र निदानका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ । उनका अनुसार प्रदेशका १२ वटा स्थानमा हेल्थ डेस्क सञ्चालनमा रहेका छन् । भारतबाट आउने बिरामीमाथि निगरानी गरी सीमा क्षेत्रमा रहेका हेल्थ डेस्कमा थर्मल स्क्यानगरका माध्यमबाट जाँचपछि मात्रै नाका प्रवेश गर्न दिने गरिएको छ ।

जनचेतनामूलक कार्यक्रम गरिदैं

कोभिड—१९ भाइरसबारे सर्वसाधारणलाई जानकारी दिनका लागि जनचेतनामूलक कार्यक्रमसमेत आयोजना भइरहेका छन् । स्थानीय तहले सरोकारवालासँग बैठक अन्तक्र्रियालगायतका कार्यक्रम गरी सो भाइरसको जोखिम बारे सचेत गराउँदै आएका छन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अधिकृत कपिलदेव जोशीले भाइरस प्रभावित स्थानबाट यात्रा गरी फर्किने यात्रुले घर वा वासस्थानमा फर्केको दिनदेखि १४ दिनसम्म अपनाउनुपर्ने अति आवश्यक क्रियाकलापबारे पर्चा पम्लेटका माध्यमबाट जानकारी दिने कार्य भइरहेको जानकारी दिए ।

‘भारतमा कोभिड– १९ का बिरामीको संख्या बढ्दै गएपछि नेपाल फर्कनेमाथि निगरानी राख्ने कार्य भइरहेको छ’, उनले भने, ‘सीमा नाका भएर आवतजावत गर्नेलाई सावधानी अपनाउनका लागि भन्दै आएका छौं । थर्मल स्क्यानरको सहायताले स्वास्थ्य जाँचसमेत हुँदै आएको छ ।’

हालसम्म सुदूरपश्चिम क्षेत्रमा कोभिड– १९ का शंकास्पद बिरामी भने फेला परेका छैनन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ