विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण ९३ देशमा पुगेको छ । यो भाइरसबाट १ लाख २ हजार १ सय ९८ मानिस संक्रमित भएका छन् । कोरोना भाइरसका कारण अहिलेसम्म ३ हजार ४ सय ९१ मानिसको मृत्यु भइसकेको छ । संक्रमित र मृतकको संख्या तीव्र रुपमा बढिरहेको छ ।
यसैबीच शनिबार इरानका एक सांसदको मृत्यु भएको छ । यता जापानपछि अब अमेरिकी तटमा रहेका एक जहाजमा २१ व्यक्ति संक्रमित भएको पाइएको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार अहिलेसम्म ६० हजार ९ सय १४ जना कोरोना संक्रमितहरु स्वस्थ भएका छन् । कहाँ के भैरहेको छ? चीनमा शनिबारमात्रै थप २८ जना मानिसको मृत्यु भएको छ । उक्त २८ जना हुवेई र वुहान प्रान्तका हुन् । यससँगै मृतकको संख्या बढेर ३ हजार ७० पुगेको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगको अनुसार ९९ नयाँ केस देखिएपछि कुल संख्या ८० हजार ६ सय ५१ पुगेको छ । नयाँ मामला उक्त भाइरसको केन्द्र हुवेई प्रान्तभन्दा बाहिरको देखिएको छ ।
भाइरसले चीनभन्दा पछि सबैभन्दा बढी मानवीय क्षति इरानमा पु¥याएको छ । शनिबार मात्रै सांसद फतेमेह रहबर समेत गरी २१ जनाको मृत्यु भएको छ । मध्य फ्रेवुअरीबाट अहिलेसम्म ७ राजनीतिज्ञको मृत्यु भइसकेको छ । चीनपछि इरानमा सबैभन्दा बढी व्यक्ति प्रभावित छन् । उक्त देशमा १ सय ४५ जनाको मृत्यु भएको छ । नयाँ मामला मात्र १ हाजर ६ सय ६९ देखिएको छ भने ५ हजार ८ सय २३ व्यक्ति संक्रमित छन् । यस भाइरसबाट सामना गर्न अब इरानको शक्तिशाली सेना रिभोल्यूशनरी गार्ड्सले मोर्चा सम्हालेका छन् ।
कोरोना भाइरसका कारण प्रभावित अर्को देश दक्षिण कोरियामा दुई विशाल अपार्टमेन्टमा रहने दर्जनौ व्यक्तिमा संक्रमित भेटिएको छ । दुवै अपार्टमेन्टमा मानिसलाई आउन जानमा रोक लगाइएको छ । दक्षिण कोरियामा थप दुई संक्रमितको मृत्यु भएको छ । यससँगै दक्षिण कोरियामा मृतकको संख्या ४४ पुगेको छ । दक्षिण कोरियामा संक्रमित मानिसको संख्या ६ हजार ७ सय ६७ छ ।
जापानमा ६ जनाको कोरोना भाइरसका कारण मृत्य भैसकेका छ भने ४६१ जना संक्रमित भेटिएका छन् । अमेरिकाका झण्डै आधाजसो राज्यमा कोरोना कहर फैलिएको छ । फ्लोरिडामा थप दुई मानिसको मृत्यु भएपछि मृतकको संख्या १७ पुगेको छ । २ सय ५० भन्दा बढी संक्रमित पाइएको छ ।
यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई)मा एक भारतीयसमेत गरी १५ व्यक्तिमा कोरोना संक्रमण पाइएको छ । १५ जनामध्ये १३ जना हालैमा विदेशबाट यूएई फर्किएका हुन् । यसभन्दा अघि गत मंगलबार एक भारतीय छात्रामा संक्रमित पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयकाले देशमा कोरोनाबाट संक्रमित मानिसको संख्या ४५ भएको जनाएको छ ।
साउदी अरबले जमिनको बाटो हुँदै यूएई, कुवेत र बहराइनबाट आउने मानिसलाई प्रवेशमा रोक लगाएको छ । मात्र व्यवसायिक ट्रकलाई साउदीमा प्रवेश गर्ने अनुमति छ । यता अफगानिस्तानमा संक्रमितको संख्या चार पुगेको छ ।
नेपालको दक्षिणतर्फको ठूलो छिमेकी देश भारतमा ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जयपुरमा १७, आगरामा ६, केरलामा ५, तमिनाडु र दिल्लीमा ३, अमृतसर र लद्धाखमा २—२ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, गुडगाव, तेलंगना र गाजिवादमा १—१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । यस्तै, हङकङमा संक्रमितको संख्या १ सय ६ पुगेको छ जसमा दुई जनाको मृत्यु भइसकेको छ ।
-एजेन्सी