२०८१ पुस १३, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशस्थानीय सरकार पनि कोरोना जोखिम रोक्ने पूर्व तयारीमा

स्थानीय सरकार पनि कोरोना जोखिम रोक्ने पूर्व तयारीमा


बुटवल—संघीय र प्रदेश सरकार कोरोना भाइरसको जोखिम रोक्न पूर्व तयारीमा जुटिरहँदा स्थानीय सरकारले पनि पूर्व तयारीका काम अघि बढाएका छन् । यसैक्रममा तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको जोखिम रोक्ने पूर्वतयारीको सन्दर्भमा सोमबार चिकित्सक र स्वास्थ्यकर्मीहरुसँग छलफल गरेको छ ।

पूर्वतयारीका कामलाई व्यवस्थित बनाउन नगरपालिकाले क्रिमसन अस्पताल र नगरभित्रका सरकारी स्वास्थ्य संस्थाका इञ्चार्जहरुसँग अन्तरक्रियात्मक बैठक गरेको हो । बैठकले क्रिमसन अस्पतालमा कार्यरत फिजिसियन डा. कृष्णचन्द्र गोदारको संयोजकत्वमा स्वास्थ्यकर्मीहरु सम्मिलित पूर्व तयारी समन्वय समिति गठन गरेको छ ।

समितिले कोरोनाबाट बच्ने उपायका सन्दर्भमा जनचेतना अभिवृद्धि, नियन्त्रणका उपाय अवलम्बन र कोही संक्रमित भएमा गरिने उपचारको बारेमा संघीय र प्रदेश सरकारसँग समन्वय गर्नेलगायतका काम गर्नेछ ।

बैठकले आमसञ्चार माध्यम, सामाजिक सञ्जाल, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, विद्यालय, टोल विकास संस्थामार्फत कोरोना नियन्त्रणका उपायको बारेमा सबैलाई जानकारी गराउने, स्वास्थ्य संस्थामा आवश्यक सर्जिकल तथा मेडिकल उपकरण, औषधिको व्यवस्था मिलाउनेलगायतका निर्णय गरेको छ ।

बैठकमा फिजिसियन डा. गोदारले कोरोना संक्रामक रोग भएको र यसले सबैभन्दा बढी फोक्सोमा असर पु¥याउने बताए । उनले यसका लक्षणहरु अन्य भाइरल संक्रामक रोगसँग मिल्दोजुल्दो हुने बताउँदै लक्षणको आधारमा बिरामीको उपचार हुने गरेको जानकारी दिए ।तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले नगरपालिका कोरोना जोखिम रोक्न सबैसँग मिलेर काम गर्न तयार रहेको बताए ।

कार्यक्रममा सेमराबजार स्वास्थ्य चौकीका डा. विनोद बढई, स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेल, सिनियर अहेव अधिकृतद्धय गणेश गौतम, ईश्वरी पौडेल, क्रिमसन अस्पतालका प्रशासकीय अधिकृत मनमोहन भट्टराई, नर्सिङ सुपरभाइजर अम्बिका ज्ञवालीलगायतले कोरोनाको जोखिम नियन्त्रणका लागि सबैले आ—आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

डव्लुएचओले दक्षिण एसियाका नेपालसहित भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेसँगै तीनै तहका स्थानीय सरकारले पूर्वतयारी अपनाएका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ